प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । दिउँसो ३ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी सूचना टाँगेर स्थगित गरिएको हो । सुन तस्करी प्रकरणमा प्रमुख प्रतिपक्षी दल एमालेले एक महिनाअघि देखि संसद् अवरुद्ध पार्दे आएकोमा मंगलबार उच्चस्तरीय छानबिन आयोग गठनमा सहमति गरी संसद् सञ्चालन गर्ने तयारी थियो ।
तर छानबिन आयोग गठनको विषयमा शीर्ष नेताहरूबीच सहमतिपत्रमा मंगलबार हस्ताक्षर नभएपछि प्रतिनिधिसभाको बैठक पनि स्थगित भएको हो । संघीय संसद्का महासचिव भरतराज गौतमले विशेष कारणले बैठक बस्न नसक्ने भन्दै सभामुखले प्रतिनिधिसभा नियमावली २०७९ को नियम ६ (३) बमोजिम बैठक बुधबार दिउँसो ३ बजेसम्मकालागि बैठक स्थगित गरेको जानकारी दिए ।
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले करिब एक महिनादेखि संसद् अवरुद्ध पार्दै आएकोमा सोमबार रातिसम्म सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलहरूबीच छलफलपछि उच्चस्तरीय छानबिन आयोग गठन गर्ने सहमति भएको थियो ।
आयोग गठनको मस्यौदा तयार गरी मंगलबार दिउँसो शीर्ष नेताहरूले छलफलपछि सहमति पत्रमा हस्ताक्षर गर्ने तयारी थियो । तर प्रधानन्यायधीशको शपथग्रहणका कारण मंगलबार शीर्ष नेताहरूको बैठक बस्न नसक्ने भएपछि सहमतिपत्रमा हस्ताक्षर रोकिएको छ । एमाले प्रमुख सचेतक पदम गिरीले बुधबार विहान ११ बजे शीर्ष नेताहरूको बैठक बस्ने र सहमतिपत्रमा हस्ताक्षर हुने बताए ।
सोमबारको सहमतिबमोजिम एमाले उपाध्यक्ष सुवास नेम्वाङ, कांग्रेस प्रमुख सचेतक रमेश लेखक र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले उच्चस्तरीय आयोग गठनको मस्यौदा तयार गरिसकेका छन् । – कान्तिपुर