प्रधानमन्त्री पुष्पकमल दाहालले विद्युतीय चुरोट (भेप) मा ल्याइएको नौ किलो सुन प्रकरणमा जोडिएका पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरामाथि अभियोजन अघि बढ्ने बताएका छन् । महरा र उनका छोरा राहुलको कनेक्सन देखिँदा पनि प्रहरीले उनीहरुलाई सामान्य सोधपुछसमेत गरेको छैन ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको अनुसन्धानमा महराका बाबुछोराको पटक-पटक फोन सम्पर्क भएको देखिएको छ । प्रहरीको प्रतिवेदनमा उक्त कुरा उल्लेख भए पनि महरालाई मुद्दा चलाइएन । यो विषय बाहिर सार्वजनिक भएपछि प्रधानमन्त्री दाहालमाथि व्यापक दबाब छ ।

‘अनन्तको विषयमा कुरा उठेपछि उहाँले प्रस्ट पार्नुभयो । महराजीलाई पनि प्रस्ट पार्नु भनिएको छ,’ बालुवाटारमा पत्रकारहरुसँग दाहालले भने, ‘सायद अब अभियोजन पनि अघि बढ्छ ।’ उनले यो विषयमा गृहमन्त्रीसहित सीआईबीसँग पनि आफूले सोधेको जानकारी दिए ।

प्रतिवेदनमा महराको नाम कसरी आयो र नाम आएपछि किन अभियोजन गरिएन भनेर प्रहरीलाई आफूले सोधेको उल्लेख गर्दै दाहालले यो विषयलाई अनुसन्धानमा अघि नबढाउने हो भने अहिले गरेका अरु सबै कामको पनि अर्थ नहुने जस्तो देखिएको बताए ।

प्रधानमन्त्री दाहालले लुम्बिनी विकास कोषको उपाध्यक्षमा विवादित पृष्ठभूमिका ल्हारक्याल लामा नियुक्तिको बचाउ गरे । ‘पार्टीको केन्द्रीय सदस्य भएकाले के फरक पर्ला र’ भनेर नियुक्त गरेको बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर