बागमती प्रदेशको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रदेश सरकार नागरिकप्रति गैरजिम्मेवार भएको आरोप लगाएको छ। जनताका समस्याका विषयमा छलफल गर्नुपर्ने समयमा सदन रोकेर सरकारले गैरजिम्मेवारीपन देखाएको एमालेको आरोप छ।

आइतबार हेटौँडामा पत्रकारहरूसँग कुरा गर्दै एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले तत्काल प्रदेश सभा आह्वान गर्न माग गरे। उनले जनता रोग, भोक, प्राकृतिक प्रकोपजस्ता समस्याबाट गुज्रिरहेको वेलामा समेत सदन रोकेर सरकार कानमा तेल हालेर बसेको आरोप लगाए।

‘जनताहरू यति वेला रोग, भोक, महँगी, प्राकृतिक विपदका कारण समस्यामा छन्। जनताका चासोका विषयमा सदनमा छलफल हुनुपर्ने हो। तर, सरकारलाई जनताका समस्याप्रति कुनै चासो छैन। सरकार जनताका समस्याप्रति उदासीन छ,’ उनले भने।

लगातारको वर्षाका कारण आएको बाढी पहिरोले जताततै क्षति पुर्‍याइरहे पनि सरकारको त्यसतर्फ ध्यान नगएको थपलियाले बताए। ‘सरकार कहाँ छ? सरकारलाई जनता पीडामा छन् भन्ने कुराको अनुभूति मात्रै पनि छ?’ उनले प्रश्न गरे। विपदमा परेका जनताको सुरक्षा र उद्धारको लागि सरकारसँग कुनै ठोस कदम नै नभएको दाबी गरे। सरकारका अधिकांश मन्त्रीहरू राजधानी हेटौँडामा समेत नबस्ने भन्दै उनले असन्तुष्टि व्यक्त गरे।

तत्काल सदन आह्वान गरेर संसद्लाई बिजनेस दिन एकालेले माग गरेको छ। ‘सांसदहरूले नागरिकको आवाज उठाउन चाहे पनि सरकारले सदन चलाउन सकेको छैन। गर्नुपर्ने काम धेरै भए पनि सरकारमा सहभागी दलहरू भागबन्डा मिलाउनमै केन्द्रित छन्,’ थपलियाले भने।

बजेट पास भएपछि असार २१ गतेबाट अर्को सूचना नभएसम्मका लागि स्थगित भएको प्रदेश संसद् अहिलेसम्म चल्न सकेको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर