१४ भाद्र २०७७, आइतवार

कोरोना भाइरसको संक्रमणबाट वीरगन्जस्थित नारायणी अस्थायी गण्डक कोरोना अस्पतालमा उपचार गराइरहेका रौतहटका एक व्यक्तिको निधन भएको छ ।

रौतहट राजपुर, तुल्सीका ४० वर्षीय पुरुषसको बिहान ७ बजेर ४० मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ ।
मधुमेहका रोगी रहेका ती पुरुषलाई गम्भीर प्रकारको कोभिड निमोनिया देखिएको अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले बताएका छन् ।

यसैगरी, भक्तपुरमा आफ्नै घरमा ‘होम क्वारेन्टिन’ बसेका एक जना पुरुषको मृत्यु भएको छ । भक्तपुर नगरपालिका वडा नं. १ दुधपाटीका ६५ वर्षीय कोरोना संक्रमितको शनिबार राति आफ्नै घरमा मृत्यु भएको हो ।

ती पुरुष पनि मधुमेहकै रोगी रहेका थिए । घरमै मृत्यु भएपछि भक्तपुर नगरपालिकाले परिवारका सबै सदस्यको पीसीआर परीक्षण गर्ने तयारी गरेको छ ।

यस्तै, ललितपुरको पाटन अस्पतालमा अर्का एक जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् ।

अस्पतालमा उपचाररत २९ वर्षीय युवकको शनिबार राति १० बजे मृत्यु भएको ललितपुर स्वास्थ्य कार्यालयले जनाएको छ । उनी गत साउन २८ गते अस्पताल भर्ना भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर