
विराटनगर / मोरङको निर्वाचन क्षेत्र नम्बर ६ बाट कांग्रेस नेता डा. शेखर कोइराला र एमाले नेता लालबाबु पण्डितले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।
कोइरालाले सत्तारुढ गठबन्धनबाट मनोनयन दर्ता गराएका हुन्। एमाले-जसपा गठबन्धनबाट पण्डितको उम्मेदवारी परेको छ। दुवै जनाले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आइतबार दिउँसो उम्मेदवारी दर्ता गराए। २०७४ सालको निर्वाचनमा पनि यही क्षेत्रमा कोइराला र पण्डितबीच प्रतिस्पर्धा भएको थियो।
पण्डितसँग कोइराला पराजित भएका थिए। आगामी मंसिर ४ गतेको निर्वाचनमा पनि कोइराला र पण्डितबीच नै प्रतिस्पर्धा हुने भएको छ।
कोइराला र पण्डितसँगै मोरङ-६ बाट प्रदेशसभा सदस्य पदका उम्मेदवारले पनि मनोनयन दर्ता गराएका छन्। सत्तारुढ गठबन्धनका तर्फबाट प्रदेशसभा ‘क’मा नेकपा (माओवादी केन्द्र)का जीवन आचार्य र ‘ख’ मा कांग्रेसका केदार कार्कीले उम्मेदवारी दर्ता गराए। एमालेबाट प्रदेशसभा ‘क’मा रीता न्यौपाने र ‘ख’मा पर्शुराम बस्नेत (कृष्ण)ले उम्मेदवारी दर्ता गराएका छन्।