
बिराटनगर / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा पुगेर उम्मेदवारी दर्ता गरेका छन्। प्रचण्डले गोरखा क्षेत्र नम्बर २ बाट मंसिर ४ मा हुने प्रतिनिनि सभा चुनावका लागि उम्मेदवारी दर्ता गरेका हुन्।
प्रचण्ड सत्ता गठबन्धनका साझा उम्मेदवार छन्। यस्तै यो क्षेत्रको प्रदेश सभामा भने बाबुराम भट्टराई अध्यक्ष रहेको नेपाल समाजवादी पार्टी र नेपाली कांग्रेसबाट उम्मेदवारी दर्ता भएको छ।
प्रदेश (क) मा नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटाले उम्मेदवारी दर्ता गराएका छन् भने प्रदेश सभा क्षेत्र (ख) मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले उम्मेदवारी दर्ता गरेका छन्।
क्षेत्र नम्बर २ को प्रतिनिधि सभातर्फ यहाँ नेकपा एमालेबाट अब्दुस मियाँले उम्मेदवारी दर्ता गरेका छन्।
गोरखाको दुई प्रतिनिधि सभा क्षेत्रमध्ये माओवादी र कांग्रेसले एक-एक क्षेत्र बाँडेर उम्मेदवारी दर्ता गरेका हुन्। क्षेत्र नम्बर १ मा भने कांग्रेस महासमिति सदस्य राजेन्द्र बजगाईंले उम्मेदवारी दर्ता गरेका छन्।
यो क्षेत्रको प्रदेश सभा (क) मा माओवादीका कृष्ण धिताल र (ख) मा नेपाली कांग्रेसका जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले उम्मेदवारी दर्ता गरेका छन्।
गोरखाको क्षेत्र नम्बर १ प्रतिनिधि सभामा नेकपा एमालेबाट नेता रामशरण बस्नेतले उम्मेदवारी दर्ता गरेका छन्।