
क्रिकेट स्टार सन्दीप लामिछानेमाथि लागेको गम्भीर प्रकृतिको आरोपले अहिले सामाजिक सञ्जाल मज्जैले हल्लाईरहेको छ । सन्दिपलाई नेपाल ओर्लिने बित्तिकै पक्राउ गर्ने तयारी छ ।
राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान लामिछानेमाथि बलात्कारको जाहेरी दिएसँगै यस घटनालाई लिएर देशको जनमत पूर्ण रुपमा विभाजित बनेको छ । एक पक्षले सन्दीपको आलोचना गरिरहेका छन् भने अर्को पक्षले किशोरीको ।
अन्तर्राष्ट्रिय ख्यातिप्राप्त खेलाडीविरुद्ध जाहेरी दिएर हलचल मच्चाएकी किशोरी अहिलेसम्म सार्वजनिक भएकी छैनन् । कानूननः नमिल्ने भएकाले प्रहरीले पनि उनको पहिचान खुलाएको छैन । यद्यपि, सामाजिक सञ्जालमा उनको भन्दै एउटा तस्बिर भाइरल बनिरहेको छ । त्यसमा विभिन्न खाले प्रतिक्रियाहरू आइरहेका छन् ।
सन्दीपले आफ्नो स्टारडमको दुरुपयोग गर्दै आफ्नी ‘फ्यान गर्ल’लाई शोषण गरेको उनका आलोचकहरूको तर्क छ । १८ वर्षमुनिका किशोरी वा बालिकासँग शारीरिक संसर्ग गर्नु बलात्कार ठहरिने कानूनका कारण सन्दीप संकटमा छन् । पल शाहको घटनाबाट पाठ नसिक्नु उनको कमजोरी रह्यो ।
अर्कोतर्फ अनाम किशोरीमाथि पनि सामाजिक सञ्जालमा विभिन्न टीकाटिप्पणी भइरहेका छन् । हरेक घटनामा पुरुष मात्रै गलत नहुने भन्दै महिलाहरूले नै उनीप्रति धेरै प्रश्नहरू तेर्स्याएका छन् । केही सेलिब्रिटीहरुले पनि उनको विरुद्धमा मुख खोलेका छन् ।
गायक शिव परियारले किशोरीप्रति लक्षित गर्दै हिजो निकै कडा स्टाटस लेखेर आक्रोश पोखे । ‘पेशेवर पीडितहरूको बलात्कार धन्दा’ भन्डाफोर गर्नुपर्ने उनले बताएका छन् ।
आफ्नो स्टाटस विवादित बनेपछि उनले प्राइभेट गरेका थिए । त्यसमा केही संशोधन गरेर फेरि पब्लिक बनाएका छन् । स्टाटसको पक्ष र विपक्षमा कमेन्टको वर्षा भइरहेको छ । दिग्गज अभिनेता सन्तोष पन्तले पनि सन्दीप प्रकरणमा किशोरीको समेत गल्ती रहेको औँल्याएका छन् ।
यो प्रकरणको पक्ष विपक्षमा जनमत विभाजन भएको छ । सामाजिक सञ्जालमा लामिछानेका पक्षमा र उनका विपक्षका तर्कवितर्क विभिन्न तह र तप्काबाट भइरहेका छन् ।
यसैबीच, चर्चित गायिका ज्योति मगरले ढिलोगरी प्रतिक्रिया जनाएपनि यो प्रकरणमा कडा प्रतिक्रिया दिएकी छन् । उनले आरोप पुष्टि नभएसम्म बलात्कारको ट्याग लगाउन नहुने बताएकी छन्। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई बलात्कारको आरोप लागेपछि उनले सामाजिक सञ्जालमा आफ्नो धारणा राखेकी हुन्।
उनले लेखेकी छन्, ‘दोषी ठहर होलान् या नहोलान्, अहिले नै उनलाई बलात्कारको ट्याग नलगाउने कि’, उनले सामाजिक सञ्जालमा लेखेकी छन्,‘नगरकोट घुम्न जानु, होटल सँगै जानु, ५ गते घटना हुनु र २१/२२ मा मुद्दा दर्ता हुनु अलि गड्बड् त छ तर जे भए पनि अन्डर एजको बारेमा सजक नभएकै हो।’ ‘केटाको उमेर जति नै ठुलो भए पनि सानै केटी रोज्नुपर्छ’ भन्ने पितृसत्तात्मक सोचका कारण पनि नाबालिगमाथि बलात्कार हुने गरेको उनको टिप्पणी छ।