नाबालिग बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफू निर्दोष रहेको दाबी गरेका छन्।
शुक्रवार बिहान सामाजिक सञ्जालमार्फत उनले नेपालको कानूनमा आफू पूर्ण विश्वास रहेको भन्दै सीपीएलबाट बिदा लिएर छिट्टै नेपाल फर्कने समेत बताएका छन् ।
उनले सबै आरोपहरू आधारहीन रहेको र आफू त्यसको सामना गर्न तयार रहेको उल्लेख गरेका छन् ।
यसैबीच अदालतको अनुमतिमा नेपाल प्रहरीले उनीविरूद्ध बिहीबारनै पक्राउ पुर्जी जारी गरिसकेको छ।
काठमाडौं जिल्ला अदालतले उनलाई पक्राउ गर्न बिहीबार अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दियो।
मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-१८ को दफा २१९ को ‘जबरजस्ती करणी गर्न नहुने’ कसुरमा सन्दीप लामिछानेमाथि थप अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएसँगै पक्राउ पुर्जी जारी गरेको।
१८ वर्षमुनिका नाबालिगमाथि सहमतिमै गरेको करणीलाई कानुनले बलात्कार मानेको छ।
करणीसम्बन्धी कसूरको दफा २१९ को उपदफा २ मा भनिएको छ, ‘कसैले कुनै महिलालाई मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा उनले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिनेछ।’
पुर्जी जारी भएसँगै प्रहरीले उनलाई जतिबेला पनि पक्राउ गर्न सक्छन्।
पक्राउ पुर्जी जारी हुने बित्तिकै नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई निलम्बन गरेको छ।
उनी उनी घटना भएको भोलिपल्टै अर्थात् भदौ ६ गते केन्यामा हुने टी-२० खेलका लागि गएका थिए। त्यहाँबाट उनी क्यारेबियन मुलुक सेन्ट लुसिया पुगेका छन्।
उनले त्यहाँबाट क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)सँग सम्पर्क पनि गरेका छन्। सन्दीपले क्यानसँग सम्पर्क गरी कानुनी सहयोगको अपेक्षा राखेका हुन्।
काठमाडौं प्रहरी परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरत बोहराले उनी जुनसुकै अवस्थामा पक्राउ पर्न सक्ने बताए।
‘हामी आफैं पनि सम्पर्क गर्छौं। पुर्जी नै जारी भइसकेपछि उनले आत्मसमर्पण गर्ने भन्ने हुँदैन। कुनैबेला पनि पक्राउ गर्न सक्छौं,’ उनले भने, ‘आवश्यक सबै प्रक्रिया पुर्याउँछौं।’
विदेशमा रहेका उनलाई पक्राउ गर्न प्रहरीले औपचारिक तथा अनौपचारिक माध्यम प्रयोग गर्न सक्ने उनी बताउँछन्।
नेपाल नआएमा इन्टरपोलको सहयोगमा पक्राउ गर्न सकिने बोहराले बताए। इन्टरपोलबाट पुर्जी जारी गर्न पनि अदालतको अनुमति माग्नुपर्छ। उनलाई विभिन्न माध्यमबाट पक्राउ गरी नेपाल ल्याउन सकिने भए पनि कहिले ल्याउने भन्ने टुंगो लागेको छैन।
जाहेरी परेसँगै प्रहरीले यस घटनाको अनुसन्धान अघि बढाएको हो। केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआएजी) टेकप्रसाद राईले बुधबार सेतोपाटीसँग कुराकानी गर्दै सन्दीपमाथि निगरानी सुरू भइसकेको बताएका थिए।
सामान्य रूपमा बोलाएर आउने सम्भावना पनि न्यून भएको उनी बताउँछन्।
‘आरोप पुष्टि हुने प्रमाणहरू बलियो भएमा त्यहाँको स्थानीय प्रहरीलाई अनुरोध गरेर पनि ल्याउन सक्छौं। अर्को इन्टरपोलमार्फत् पनि पक्राउ गर्न सक्छौं,’ उनले भनेका थिए, ‘नेपालमा भएको भए प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न सकिन्थ्यो। विदेशमा भएको हुनाले कानुनी प्रक्रिया पुर्याएर जान्छौं।’
भदौ ५ गते मध्यराति काठमाडौंको एक होटलमा पुर्याएर १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको भन्दै प्रहरी वृत्त गौशालामा मंगलबार जाहेरी परेको थियो।
प्रहरीले पीडित किशोरीको स्वास्थ्य परीक्षणसमेत गरिसकेको छ। एकद्वार संकट व्यवस्थापन केन्द्रमा लगेर उनको स्वास्थ्य परीक्षण गरिएको हो।
प्रहरीले उनीहरू बसेको भनिएको होटलको सिसिटिभी फुटेज पनि प्रमाणको रूपमा संकलन गरिसकेको छ। त्यस होटलमा लामिछानेले आफूमाथि पटकपटक बलात्कार गरेको प्रहरीसमक्ष पीडितले बयान दिएकी छन्।
यस्तै उक्त होटल जानुअघि उनीहरू भक्तपुरको नगरकोट गएका थिए। त्यहाँबाट पनि सिसिटिभी फुटेज ल्याएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।