कालीगण्डकी गाउँपालिका वडा ७ मिर्मि स्याङजामा रहेको खवरा खानेपानी संस्थाको चौतर्फि आलोचना भएपछि जनप्रतिनिधिहरुले चाँसो देखाउन थालेका छन । स्थानीयहरुले वारम्वार संस्थाले गरेको कामको वारेमा पटक पटक मौखिकरुपमा जानकारी गराउदा समेत संस्थाले कुनै चाँसो देखाएको थिएन ।
उपभोक्ताहरुले संस्थाको वारेमा विभिन्न माध्यमवाट जानकारी गराउदा समेत संस्थाले ध्यान नदिएपछि सामाजिक संजालहरुको प्रयोग गर्नुपरेको थियो । उपभोक्ताहरुले संस्थाको हाल सम्म पनि साधारण सभा नभएको,हिसाव कितावहरु सार्वजनिक नगरिएको,उपभोक्ताहरुको गुनासो नसुनिएको जस्ता गुनासाहरु सामाजिक संजालमा ल्याउन थालेपछि वडा कार्यालयको ध्यानाकर्षण भएको हो ।
यस अघि एक घर एक मिटर अभियान लागि भनेर प्रति घर परिवारले चार हजार रुपैयाको दरले रकम जम्मा गरेका थिए । खानेपानीको पाईप ल्याउन भनेर रेखाकंन गरी पाईपविस्तारको लागि खनीएको थियो तर अहिले पाईप नराख्दै त्यो खनेको समेत पुरिईसकिएको छ,खानेपानी आउने त कुरै नगरौ स्थानियले राष्ट्र डेलीलाई जानकारी गराए ।
पछिल्लो समयमा वडा न ७ का केहि उपभोक्ताहरुले वडाकार्यालयमा समेत ध्यानाकर्षण गराएपछि वडाले आफनो कदम चाल्ने वचन दिएको छ ।
गाउँपालिकाका वडाअध्यक्ष ओम प्रकाश भट्टराईले आफुहरु यस विषयमा गंभिर रहेको र उपभोक्ताको मागलाई सम्वोधन गर्ने किसिमले लाग्ने जानकारी दिए । उनले भने ‘संस्थाले उठाएको रकम उपभोक्तालाई ब्याज सहित फिर्ता गराउने काममा मेरो पहल हुनेछ’
अहिले वडामा सहज रुपले पानी खुवाउनको लागि प्रदेश सरकारवाट वजेट ल्याएर काम अगाडि वढाउने प्रकृयामा रहेको पनि वडाअध्यक्षले जानकारी गराए ।