
६ साउन २०७९, शुक्रबार
दक्षिण भारतीय सुपरस्टारद्वय अल्लु अर्जुन र रश्मिका मन्दाना हिजोआज आगामी फिल्म ‘पुष्पा : द रुल’लाई लिएर चर्चामा छन् ।
यतिबेला बलिउडका दिग्गज अभिनेता मनोज बाजपेयीलाई समेत यो सिक्वेलमा प्रस्ताव गरिएको खबर छ । निर्माताले मनोजलाई प्रहरी अधिकृतको पात्रको लागि प्रस्ताव गरेका छन् ।
भारतीय सञ्चारमाध्यमको यो खबरलाई लिएर बाजपेयीको प्रतिक्रिया आएको छ । एक अन्तर्वार्तामा मनोजलाई ‘पुष्पा-२’ को लागि प्रश्न गरियो । यसबारे मनोजले भने, ‘तपाईंलाई यस्तो खबर कसरी प्राप्त हुन्छ ?’
तर अग्रणी भारतीय मिडियाले बाजपेयीको ‘पुष्पा २’ मा इन्ट्रीलाई लिएर खबर छापेका छन् ।
यसअघि साउथ फिल्ममा काम गर्ने चाहना व्यक्त गर्दै मनोजले राम्रो कथावस्तु खोजेको बताएका थिए । ‘मलाई फिल्म एक हजार करोड, ५०० वा ३०० करोडमा बन्यो भन्ने खबरसँग मतलब छैन,’ उनले भनेका थिए ।
यही क्रममा पुष्पाको दोस्रो श्रृंखलालाई बिग बजेटमा निर्माण गर्न लागिएको यसको बजेट ३५० करोड भारुभन्दा बढी मूल्यमा बनाउन लागिएको जनाइएको छ । फिल्मको यो बजेट पहिलो भागभन्दा डेढ सय करोडले बढी रहेको जनाइएको छ ।
अहिले ‘पुष्पा : द रुल’को स्क्रिप्टको काम भइरहेको छ । गत १७ डिसेम्बरमा रिलिज भएको ‘पुष्पा’को पहिलो श्रृंखलामा अल्लु अर्जुन, रश्मिका मन्दाना र श्रीवल्लभी मुख्य भूमिकामा प्रस्तुत थिए ।