
२०७८ चैत्र २८, सोमबार
लुम्बिनी प्रदेशमा पछिल्लो २४ घण्टामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर ५ जनाको मृत्यु भएको छ ।
बाँके, दाङ र प्युठानमा आइतबार र सोमबार भएका दुर्घटनामा ५ जनाको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–११ बीपी चोकमा आइतबार राती प्रदेश नम्बर ३–०१–०२३ च ८४८१ नम्बरको कारको ठक्करबाट ३ जना पैदल यात्रीको मृत्यु भएको छ ।
दुर्घटनामा नेपालगञ्ज उपमहानगरपालिका–११ सोनारमण्डी बस्ने ६५ वर्षीया समिना इद्रिसी, सोही स्थान बस्ने अस्लाम अन्सारीका ५ वर्षीय छोरा अली अन्सारी र ५ वर्षीय कलिम इद्रिसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कार चालक प्रहरी नियन्त्रणमा रहेका छन् । त्यस्तै घोराही उपमहानगरपालिका–७ नाग डाँडामा सोमबार भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
रा.५ प ५१८५ नम्बरको मोटरसाइकल रा.१ त ४६७८ नम्बरको ट्याक्टरमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
घोराही उपमहानगरपालिका–१६ बयरडाँडा बस्ने २२ वर्षीय निशान्त चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त घटनामा घाइते भएका अन्य २ जनाको उपचार भइरहेको छ ।
यता प्यूठान नगरपालिका–४ बिजुवारमा रा.१ क ८८१ नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने विकास कार्कीका १५ महिनाका छोरा यूनिक कार्कीको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।