शुक्रबार, चैत ११, २०७८

आगामी वैशाख ३० गते स्थानीय तहको चुनाव हुँदैछ।

चुनावका लागि राजनीतिक दलहरूले अहिले घोषणापत्र बनाउनेदेखि विभिन्न कार्यक्रम गरिरहेका छन्। आकांक्षीहरू उम्मेदवार बन्न लबिङमा लागिरहेका छन्।

ललितपुर-१० का ८१ वर्षीय नरसिंह व्यञ्जनकारलाई पनि चुनाव लागेको छ।

बहालवाला वडाध्यक्ष नरसिंहलाई चुनाव लाग्नुको अर्थ घरदैलो गर्ने, पर्चा पम्पलेट छाप्ने, प्रचार प्रसार गर्ने होइन।

उनलाई चुनाव लागेको छ किनकी उनले फेरि पनि वडाध्यक्ष लड्न योजना बनाएका छन्।

१९९७ साल मंसिर १२ गते कुपन्डोलमा जन्मिएका नरसिंहले झन्डै आधा शताब्दी वडाध्यक्ष भएर बिताइसके।

कुपन्डोलदेखि यता नारायणी होटलसम्म र उता चाकुपाट हुँदै कृष्णगल्लीसम्मको क्षेत्रमा ओहोरदोहोर गर्दै उनको जिन्दगीका ४९ वर्ष बितिगए। आधा शताब्दीमा यो क्षेत्रको स्वरूप धेरै फेरियो तर नरसिंहको काम भने उस्तै छ।

नरसिंह ललितपुर उपमहानगरपालिका वडा नम्बर १० का अध्यक्ष हुन्।

उनले यो वडाको नेतृत्व सम्हालेको दसौंपल्ट हो।

तीमध्ये ९ पटक उनले स्वतन्त्र उम्मेदवार बनेरै चुनाव जिते।

यो वडामा १० हजारभन्दा बढी जनसंख्या छ।

उनी बिहान उठेर दिनहुँ टोलको एक फन्को मार्छन्।

यो उनको दैनिकी नै भएको छ।

कता के भइरहेको छ आफैं गएर हेर्छन् र बुझ्छन्।

दिनभरि के गर्ने, कहाँ जाने र क-कसलाई भेट्ने टुंगो लगाउँछन्।

त्यसपछि खाना खान केहीबेर घर जान्छन्। त्यसपछि खाना खाएर कार्यालय जान्छन्।

तीन वर्षअघि  कुरा गर्दा उनकी श्रीमती नानीछोरी व्यञ्जनकारले नरसिंह जहिल्यै काम भनेर घरमा नबस्ने र परिवारलाई समय नदिने गुनासो गरेकी थिइन्।

उनको त्यो गुनासोमा माया मिसिएको थियो।

अहिले नरसिंहलाई त्यो मायासहितको गुनासो गर्ने मान्छे छैन।

डेढ वर्षअघि नानीछोरी सधैँका लागि विदा भएकी छन्।

नरसिंहको वडाध्यक्ष यात्रा २०२९ सालबाट सुरू भएको हो।

त्यतिबेला उनले कांग्रेसबाट उठेका आफ्नै भाइ (माइलाबाका छोरा) कर्मलाललाई हराएका थिए।

स्वतन्त्र उम्मेदवारमा उठेर पहिलो पटकमा नै चुनाव जितेका थिए।

त्यसपछि यो वडाको जिम्मेवारी उनले कसैको हातमा जान दिएनन्।

वडावासीहरूले पनि यो जिम्मेवारी अरूलाई सुम्पन चाहेनन्।

लगभग आधाजसो चुनाव त उनले निर्विरोधै जितेका छन्।

कसैले विपक्षमा उभिने हिम्मतै गरेनन्।

कसैले चुनौती दिन खोज्दा पनि नराम्ररी पछारिए।

राजनीतिमा आउनुअघि उनी नारायणहिटीमा निर्माणको काम गर्थे।

पञ्चायत कालका वडाध्यक्ष व्यञ्जनकारको लोकप्रियता एकदमै थियो।

उनलाई बहुदल आएलगत्तै २०४९ सालको चुनावमा लड्न नेपाली कांग्रेसले टिकट दियो।

त्यसबेला पानि उनले निर्विरोध वडाध्यक्षको पद हासिल गरे।

२०५४ सालमा उनलाई कांग्रेसले टिकट दिएन।

कुनै पार्टीले टिकट नदिएता पनि उनलाई चुनाव लड्न केसैले रोकेन।

उनलाई फेरि वडावासीले स्वतन्त्र उम्मेदवार बनाए।

उनले स्वतन्त्र उम्मेदवार बनेर फेरि चुनाव जिते।

त्यो चुनावमा बाँकी सबै उम्मेदवारको जमानतै जफत भयो।

बिहीबार हामी उनलाई भेट्न साढे नौ बजेतिर वडा कार्यालयमा गएका थियौं।

उनी कार्यालयमै भेटिए।

‘अन्त बिहान १० बज्दा पनि कार्यालयमा वडाध्यक्ष आइपुग्दैनन्,’ नजिकैको एक चिया पसलका साहुजीले भने, ‘उहाँ कार्यालय समयअघि नै आइपुग्नुहुन्छ। यो त उहाँको बानी हो।’

नरसिंहलाई हामीले सोध्यौं- तपाईं फेरि चुनाव लड्न कि नलड्ने?

‘उमेर पनि भइसक्यो। अब त नलडौं भनेको थिएँ’, नरसिंहले भने, ‘वडावासीहरूले फेरि चुनाव लड्नु भनेका छन्। लड्छु। स्वतन्त्र उम्मेदवारी दिन्छु।’

आफू नउठे यो वडामा कांग्रेसका उम्मेदवारले चुनाव जित्छन् भन्ने उनलाई लाग्छ।

त्यही भएर उनले कांग्रेसको राजनीति गर्ने एक जना साथीलाई उम्मेदवार खोज्न भनेका थिए।

उम्मेदवार हुने भनिएका दुई/चार जनाप्रति आफूलाई विश्वास नभएपछि फेरि चुनाव लड्न लागेको नरसिंहले बताए।

उनले आफूलाई चुनाव हारिएला भन्ने डर नभएको बताए।

‘अहिले म आफैंले चुनाव लड्छु भनेको होइन।

सबैले तपाईं चुनावमा उठ्नुपर्छ भनेपछि उठ्ने निधो गरेको हुँ।

पहिले आफूखुसी लडेको थिएँ, यसपालि वडावासीले गर्दा।

वडावासीले मलाई फेरि जिताउँछन् भन्ने कुरामा विश्वस्त छु,’ उनले भने।

नरसिंह अरू उम्मेदवारजस्तो चुनाव प्रचारमा पैसा खर्च गर्दैनन्।

उनी माइकिङ, पोस्टरलगायत केहीमा पनि खर्च नगर्ने बताउँछन्।

‘मैले केही गरेको छैन।

न त घोषणापत्र नै तयार गरेको छु।

मेरो चुनाव चिन्ह्र बोकेर घरघर जान्छु र यही चिन्हमा भोट हाल्न आग्रह गर्छु।

अरू कसैलाई भोट माग्न खटाउने गरेको पनि छैन,’ उनले भने,‘अरूलाई भोट माग्न पठाएको भए खर्च हुन्थ्यो।

म आफैं भोट माग्न जाँदा घर-घरमा उल्टै मलाई चिया खुवाएर पठाउँछन्।’

आउने चुनावमा ३० हजारसम्म रुपैयाँ खर्च गर्ने उनको योजना छ।

त्यो पैसा पनि चुनावअघि होइन चुनावपछि खर्च हुने उनले बताए।

‘चुनाव जितेको दिन समयबजी (नेवारी भोज) खुवाउन खर्च हुन्छ,’ नरसिंहले भने।

आफूले गरेको काममै आधारमा वडावासीले आधा शताब्दीसम्म विश्वास गरेको नरसिंहले बताए।

‘पानीमा लेख्ने अक्षर र ढुंगामा लेख्ने अक्षरमा फरक हुन्छ कि हुँदैन?,’ उनले भने, ‘मेरो काम त्यस्तै हो। सबैमा पारदर्शिता हुन्छ। महिला, पुरूष जोसुकै आऊन्, राम्रो काम गर्नेका लागि सधैँ साथ हुन्छु।

वडावासीको काम परे जतिखेर जहाँ भए पनि पुग्छु।

त्यसैले कोही पनि जनता मसँग असन्तुष्ट छैनन्। कसैले औंला उठाएका छैनन्।

असन्तुष्टि भएको भए जिताउने थिएनन् होला।’

समाचार र तस्विर सेतोपाटिवाट

प्रतिक्रिया

सम्बन्धित खवर