दुुर्गा देवकाटा रासस
टीकापुर, माघ २३

कैलालीकी रुपा हिजोआज सम्मानजनक व्यवहारका कुरा गर्छिन्।

१३ वर्षको उमेरमा विवाह गरेकी रुपाका श्रीमान् जागिरे हुन्। तीन सन्तानकी आमा उनले श्रीमानबाट कहिल्यै राम्रो व्यवहार पाइनन्।

पतिले उनलाई कहिल्यै राम्रो बोलिबचनसम्म गरेनन्। सन्तान नहुर्कुञ्जेल रुपाले यी व्यवहार सहेर बसिन्। सन्तान हुर्किसकेपछि उनलाई श्रीमानले गर्ने दुर्व्यवहारबिरुद्ध आवाज उठाउन मन लाग्यो।

वैवाहिक जीवनको २३ वर्षपछि उनले अगल हुने निर्णय गरिन्।

‘मलाई श्रीमानले कहिल्यै सम्मानजनक व्यवहार र अवसर दिएनन्। खान लाउन दिए, धन सम्पत्ति दिए तर इज्जत दिएनन्। दम्पत्ती भनेका जोडी हुन्। जोडी बराबर भए पो जीवन सजिलो हुन्छ। मैले सधैँ मीठो बोल्नुपर्ने, स्याहार गर्नुपर्ने, माया दिनुपर्ने तर उनले तिमी भनेर सम्मानजनक बोल्न पनि नचाहने,’ उनले भनिन्।

रुपा श्रीमानले दास सम्झने व्यवहारकै कारण आफू मिलेर बस्न नसकेको दाबी गर्छिन्।

‘उहाँ अरु केही गलत हुनुहुन्नथ्यो, म आत्मसम्मान गिरेको महसुस गर्न थालेँ, उहाँले कहिल्यै बुझ्नु भएन। मनमुटाव विस्तारै बढ्दै गयो, दुःखी भएर बस्नुभन्दा अलग बस्ने निर्णय गर्‍यौँ,’ सम्बन्ध विच्छेदपछि हाल उनी सम्बन्धमा सम्मानजनक व्यवहार चाहिन्छ भनी सिकाउन थालेकी छन्।

उनी हिजोआज सामाजिक जीवनमा सक्रीय छन् र समाजमा महिला र पुरुषबीच समान तथा सम्मानजनक व्यवहार हुनुपर्छ भनी सिकाउने गर्छिन्।

कैलालीकै रमा धामीलाई पनि श्रीमानको व्यवहार मन पर्दैन। उनी श्रीमानले जीवनसाथीको जस्तो व्यवहार गरुन भन्ने चाहन्छिन्। प्रेम विवाह गरेकी उनले सुरुआति दिनमा श्रीमानबाट साथीजस्तै व्यवहार पाउँथिन्। विवाहपछि व्यवहार बदलियो।

‘विवाहअघि हामी तिमी भनेर बोल्थ्यौँ, परिवारको सहमतिमा विवाह भयो। भोलिपल्टबाट मलाई हजुर भनेर सम्बोधन गर्न परिवारले अह्राए, नाम लिएर वा तिमी भनेर बोल्दा श्रीमानको नाम लिएर बोल्ने सभ्यता नभएकी रहेछ भनी कुरा काटे,’ उनले भनिन्।

परिवार र छिमेकीले कुरा काटेपछि उहाँलाई अप्ठ्यारो पर्‍यो। उनले बोलीचनमा सुधार गरिन्। परिवार र समाजले चाहेजस्तै शब्दले सम्बोधन गर्न थालिन् तर श्रीमानले थप बोली र व्यवहार बिगारे। तिमी भनेर बोल्ने श्रीमान् तँ भनी सम्बोधन गर्न थाले।

‘हामी विवाहपछि बराबरी रहेनौँ, हाम्रो हैसियत समेत बदलियो’, उनले भनिन्। दम्पत्ती भनेका जीवनसाथी हुन्। जीवनसाथीको व्यवहार साथीजस्तै हुनुपर्छ।’

तर हाम्रो समाजमा जीवनसाथी बराबरी व्यवहार गर्ने निकै कम छन्। सम्मानजनक तरिकाले बोल्दाका फाइदा धेरै छन्।

‘हरेक श्रीमानले आफ्नो बोली र व्यवहारमा आफ्नी श्रीमतीप्रति सम्मान र प्रशंसा गर्न सक्नुपर्छ। श्रीमतीको कामप्रति प्रोत्साहन र प्रशंसामात्र गर्न सकेमा धेरै घरमा शान्ति हुन्छ’, शिक्षक झपट कडायत भन्छन्, ‘परिवारका सदस्यले पनि दम्पत्तीका सकारात्मक कार्यमा हौसला दिने काम गरेमा सम्मानजनक व्यवहार सम्बन्धमा स्थापित हुन सघाउँछ।’

बलियो र दीगो सम्बन्धका लागि जसरी श्रीमतीले श्रीमानलाई साथ दिन्छिन् यसैगरी श्रीमानले समेत साथ दिन आवश्यक छ।

अधिकारकर्मी योजना अधिकारी महिलालाई गाली गर्ने, डर देखाउने, अपमान गर्ने, धम्की दिने, नियन्त्रणमा राख्ने काम सदियौँदेखि चलिरहँदा समाजमा महिलाहरु महिला भएकै कारण बढी हिंसा सहिरहेका बताउँछिन्।

‘विवाहमा माया र सम्मान आवश्यक हुन्छ। यही माया र सम्मान गर्न नजान्दा विवाहको सकारात्मक पक्षको लाभ दम्पत्ती र परिवारले नै लिन नसकेको देखिन्छ। आत्मसम्मान नपाउँदा बर्सेनि आत्महत्या गर्ने महिलाको संख्या समेत बढेको देखिन्छ। सम्मानजनक व्यवहारको कमीकै कारण महिला आफूलाई समाजमा स्थापित गर्न कठिन ठान्छन्,’ उनले भनिन्।

अधिबक्ता गम्भीरसिंह ऐर ७५ प्रतिशत सम्बन्ध विच्छेदका घटना सम्मानजनक व्यवहार नभएकै कारण हुने गरेको बताउँछन्।

‘गत वर्ष कैलालीमा सय बढी घटना सम्बन्ध विच्छेदका भएका छन्। सम्बन्ध विच्छेदले परिवार विखण्डन भएको छ। परिवार बिखण्डन भए बालबालिकाको जीवन बर्वाद हुन्छ। उनीहरु अभिभावकको माया पाउनबाट बञ्चित हुन्छन्,’ उनले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार