
१२ भाद्र २०७७, शुक्रवार
गुल्मी जिल्लामा ल्याइएको पीसीआर मेसिन सञ्चालन गर्नुको सट्टा एक महिनापछि विभिन्न उपकरण छुटेको भन्दै पुन: काठमाडौं फिर्ता गरिएको छ । साउन ३ गते परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जिल्लाको सदरमुकाम तम्घासमा रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसाललाई हस्तान्तरण गरेका थिए ।
। मेसिन जडानको लागि रेसुङ्गा नगरपालिकालाई जिम्मा दिइएको थियो । तर नगरपालिकाले उक्त मेसिनलाई चाहिने विभिन्न उपकरणहरु नभएको कारण देखाउँदै सञ्चालनमा ल्याउन नसकेको बताएको छ । पीसीआर मेसिन अनुगमनका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवाबाट आएको टोलीले मेसिनमा लाग्ने उपकरणहरु नभएको भन्दै यसलाई आफुहरुले जडान गर्न नसक्ने बताएका थिए ।
जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले मेसिनमा विभिन्न उपकरणहरु जडान गर्नुपर्ने भएकाले उक्त मेसिन काठमाडौं लगिएको बताए । जिल्लामा प्राविधिक बोलाउन नसकिने र उपकरणहरु उपलब्ध गराउन नसकिने भएकाले मेसिनमा विभिन्न उपकरणहरु जडान गर्नको लागि काठमाडौं पठाइएको बताइएको छ । जिल्लामा पीसीआर मेसिन सञ्चालनका लागि दुई नगरपालिकाबाट १५-१५ लाख र दश गाउँपालिकाबाट १०-१० लाख रुपैयाँ उठाउने भएका थिए ।