दूरसञ्चार क्षेत्रमा भएका प्रविधिको विकाससँगै नेपाल टेलिकमले आफ्ना ग्राहकलाई नवीनतम प्रविधिमा आधारित सेवा उपलब्ध गराउँदै आएको छ ।

यसै क्रममा टेलिकमले सीडीएमए प्रविधिमा आधारित स्काई-फोनका प्रयोगकर्तालाई जीएसएम फोरजी प्रविधिमा प्रतिस्थापन गर्न थालेको छ । यो प्रक्रिया टेलिकमले अघिल्लो आर्थिक वर्ष २०७७/०७८ बाटै अघि बढाएको हो ।

चालू आव २०७८/०७९ मा समेत यो कार्यक्रमलाई निरन्तरता दिइएको छ । यसरी सीडीएमए प्रविधिमा आधारित स्काई-फोनबाट जीएसएम फोरजी प्रविधिमा जाने प्रयोगकर्तालाई टेलिकमले धेरै सुविधा उपलब्ध गराइरहेको छ ।

जसमा सीडीएमए प्रविधिमा आधारित स्काई प्रिपेड फोन प्रयोग गरिरहेको ९७४ रेन्जका सिमकार्ड फिर्ता गरी ९७६ रेन्ज नम्बरको जीएसएम फोरजी सिमकार्ड निःशुल्क लिन सकिनेछ । अहिले प्रयोग गरिरहेको सीडीएमए नम्बरका पछिल्ला सात अंक नयाँ जीएसएम नम्बरमा आउने टेलिकमले जनाएको छ ।

यसरी लिइएको नयाँ जीएसएम फोरजी सिममा ६ महिनासम्म मासिक तीन सय मिनेट कल, तीन सय वटा एसएमएस र फोरजी डेटा निःशुल्क उपलब्ध हुने उल्लेख छ ।

निःशुल्क कल र एसएमएस नेपाल टेलिकमको नेटवर्कभित्र प्रयोग गर्न सकिनेछ । त्यस्तै स्काई पोस्टपेड प्रयोग गरिरहेको ग्राहकले ९७५ रेन्जको स्काई फोन पोस्टपेड रिमकार्ड फिर्ता गरी ९८५१३ रेन्जको नम्बरको पोष्टपेड जीएसएम फोरजी सिमकार्ड निःशुल्क लिन सकिने जनाइएको छ ।

अहिले प्रयोग गरिरहेको सीडीएमए नम्बरका पछिल्ला ५ वटा अंक उस्तै हुने गरी नयाँ जीएसएम नम्बरमा उपलब्ध गराइने उल्लेख छ ।

यसरी लिइएको नयाँ पोष्टपेड जीएसएम फोरजी सिममा ६ महिनासम्म नेपाल टेलिकमको नेटवर्क भित्र मासिक चार सय मिनेट कल र दुई सय ओटा एसएमएस, अन्य नेटवर्कमा मासिक ५० मिनेट कल तथा ६ जीबी डाटा निःशुल्क उपलब्ध हुने जनाइएको छ ।

त्यतिमात्रै नभएर नयाँ नम्बरमा यही पुस महिना सम्म मासिक न्यूनतम महसुल नलाग्ने जनाइएको छ । कम्पनीका अनुसार पुरानो सीडीएमए नम्बरमा भएको ब्यालेन्स र भ्यालिडिटी नयाँ नम्बरमा स्वतः ट्रान्सफर हुनेछ जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर