पत्रपत्रिका
राजधानी दैनिक

२०७८ आश्विन २५, सोमबार

रूपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ स्थित मोतिपुर औद्योगिक क्षेत्रमा जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच आइतबार झडप हुँदा चार जनाको मृत्यु भएको छ । झडपमा प्रदर्शनकारी, प्रहरी र सशस्त्र प्रहरी गरी झन्डै ५० जना घाइते भएका छन् ।

युनिभर्सल कलेज अफ मेडिकल साइनसेज (यूसीएमएस) भैरहवामा उपचारका लागि गएका आठ जना अतिक्रमणकारी र पाँच प्रहरीमध्ये चार जना अतिक्रमणकारीको मृत्यु भएको हो । केहीको अवस्था गम्भीर छ ।

यूसीएमएसका जनसम्पर्क अधिकृत सुशील गुरुङका अनुसार, मृत्यु भएका तीनमध्ये कपिलवस्तुको वाणगंगा नगरपालिका–४ का ४८ वर्षीय रमेश परियारको सनाखत भएको छ । उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । अन्य तीनको भने अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो । सो अस्पतालमा अन्य पाँच प्रहरी र चार सर्वसाधारणको उपचार भइरहेको छ ।

रूपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार, आइतबार भएको घटनामा चार जनाको मृत्यु भएको छ । सर्वसाधारणतर्फ १६, नेपाल प्रहरीतर्फ १६ जना, सशस्त्र प्रहरीतर्फ १५ जना घाइते भएका छन् । घाइते हुनेमा सशस्त्र प्रहरी उपरीक्षक (एसपी) राजेश उप्रेती पनि छन् ।

प्रमुख जिल्ला अधिकारी तिवारीले सार्वजनिक जग्गा छाड्न प्रशासनले पटकपटक ताकेता गरे पनि बेवास्ता गरेपछि प्रशासन संयमतापूर्वक अघि बढेको तर प्रदर्शनकारी जाइलागेपछि जवाफी आक्रमण गरेको बताए । उनले प्रदर्शनकारीले ढुंगामुढासँगै पेट्रोल बम प्रहार गरेपछि बाध्य भएर गोली चलाउनुपरेको बताए । सार्वजनिक सम्पत्तिको रक्षा गर्ने सिलसिलामा गोली चलाउनुपरेको बाध्यता पनि उनले सुनाए ।

उनले भने, ‘पेट्रोल बमको छर्राले एसपी साव नै घाइते हुनुभएको छ । त्यसो त हामीले सुरुमा अश्रुग्यास, त्यसपछि हवाई फायर गरेका हौं, त्यसपछि मात्रै गोली चलाइएको हो, प्रदर्शकारीबाट आक्रमण हुन थालेपछि यो घटना हुन गयो ।’

सो औद्योगिक क्षेत्रको नदी उकास क्षेत्रमा गत सातादेखि ठूलो संख्यामा अस्थायी टहरा बनाएर जग्गा अतिक्रमण भएको थियो । करिब दुई बिघा जग्गा सुकुम्बासीको नाममा कब्जा गर्ने प्रयास भइरहेको थियो । तर, अतिक्रमित जग्गाबाट स्थानीय हट्न नखोजेपछि प्रहरीले बल प्रयोग गरेको हो । सो क्रममा प्रहरीले अस्थायी रूपमा बनाइएका टहरासमेत भत्काएको छ । सो जग्गामा गत चैतमा औद्योगिक क्षेत्रको शिलान्यास गरिएको थियो । त्यसबेला पनि स्थानीयवासीले विरोध गरेका थिए ।

१ चैत २०७२ मा रूपन्देहीको मोतिपुरमा पाँच वर्षभित्र औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा भएको थियो । बुटवल उपमहानगरपालिकासहित तिलोत्तमा नगरपालिका, सियारी र शुद्धोधन गाउँपालिकासित जोडिएको तिनाउ नदी उकास क्षेत्रको सार्वजनिक जग्गामा औद्योगिक क्षेत्र बनाउनेमा सबै दलको सहमति थियो ।

जग्गा कब्जाको विषयले तनाव बढेपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले कर्फ्यू आदेश जारी गरेको छ । सुरक्षा व्यवस्था कडा बनाए पनि स्थिति नियन्त्रणभन्दा बाहिर जान सक्ने जोखिम बढेको भन्दै स्थानीय प्रशासनले आइतबार दिउँसो ४ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यु जारी गरेको हो ।

प्रशासनका अनुसार पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुरको खेतीयोग्य जमिन, उत्तरमा शिवनगर रानीगन्ज बस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका १८ स्थित औद्योगिक कोरिडोरसम्म निषेधाज्ञा जारी गरिएको छ ।

‘जिल्लाको बुटवल उपमहानगरपालिका–१७ र १८ मा निर्माणाधीन मोतिपुर औद्योगिक कोरिडोर क्षेत्रको जग्गा अतिक्रमण गरी बस्ती बसाल्ने योजना बनाएकोमा विगत केही दिनदेखि सुरक्षा व्यवस्था मजबुत बनाई आएकोमा स्थिति नियन्त्रणभन्दा बाहिर जाने साथै सर्वसाधारणको शान्ति सुरक्षाको अवस्थासमेत जोखिममा पर्न सक्ने देखिएकाले शान्ति सुरक्षालाई मजबुत र प्रभावकारी बनाउन स्थानीय प्रशासन ऐन २०७८ को दफा ६ (क)को अधिकार प्रयोग गरी आज मिति २०७८ साल असोज २४ गते दिनको ४ बजेदेखि अर्को सूचना जारीसम्मका लागि देहायको चारकिल्ला तोकी कफ्र्यु आदेश जारी गरिएको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिएको छ’, आदेशमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर