२८ भाद्र २०७८, सोमवार
ताप्लेजुङको उत्तरी सीमावर्ती गाउँ ओलाङ्चुङगोलामा स्थापित सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट (बीओपी) को कार्यालय भवन निर्माण अन्तिम चरणमा पुगेको छ । चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको मौवाटारमा बीओपीको कार्यालयसहितका संरचना तयार हुन लागेको हो ।
फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलामा अवस्थित सो बीओपी गत वर्ष स्थापना गरिएको थियो । हिमालयन कन्स्ट्रक्सनले अहिले कार्यालय भवनलगायतका संरचना निर्माण गर्दै आएको छ ।
आगामी असोज मसान्तभित्र काम सम्पन्न गर्ने गरी योजना सम्झौता गरेर काम सुरु गरेको र हाल अन्तिम चरणमा पुगेको निर्माण कम्पनी प्रमुख इन्द्र केदेमले जानकारी दिए ।
संरचना बनिनसकेकाले बीओपीका लागि खटेका सशस्त्र प्रहरी टोली भने हाल ओलाङ्चुङगोलामा बस्दै आएका छन् । दुई देशको सीमा क्षेत्रमा स्थापना गरिएको बीओपीमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ५० जनशक्ति रहने बताइएको छ ।