
२१ भाद्र २०७८, सोमवार
पश्चिम अफ्रिकी मुलुक गिनीको सेनाले राष्ट्रपतिलाई अपदस्थ गरी सत्ता कब्जा गरेको छ ।
सेनाले त्यहाँको राष्ट्रिय टेलिभिजनमा सम्बोधन गर्दै राष्ट्रपति अल्फा कोन्डेलाई अपदस्थ गरी सत्ता हातमा लिएको जनाएको छ । सेनाको घोषणाअघि राजधानी कोनाक्रीस्थित राष्ट्रपति भवननजिक दोहोरो गोली हानाहान भएको थियो । राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेस र अफ्रिकी युनियनले सेनाको ‘क’को निन्दा गर्दै राष्ट्रपति कोन्डेको अवस्था सार्वजनिक गर्न माग गरेका छन् ।
गत वर्ष सम्पन्न निर्वाचनमा कोन्डे तेस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका थिए । उनी सन् २०१० मा पहिलोपटक विजयी भएका थिए ।
गिनीको अशान्तिकै कारण मोरक्कोविरुद्ध विश्वकपको छनाेट खेल पनि स्थगित भएको छ । सम्पूर्ण खेलाडी र खेल अधिकारीको सुरक्षाका लागि खेल स्थगित गरिएको फिफाले जनाएको छ । सेनाको ‘कू’ पछि मोरक्कोको फुटबल टिम स्वदेश फर्किन सकेको छैन ।
यसैबीच, सेनाको अपदस्थ प्रयासलाई राष्ट्रपतिका सुरक्षाकर्मीले विफल पारिदिएको रक्षा मन्त्रालयले दाबी गरेको छ ।