१८ भाद्र २०७८, शुक्रवार
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएका छन्।
अध्यक्ष केपी शर्मा ओलीको गलत विचार, प्रवृत्ति र शैलीका कारण एमालेमा रहिरहन नसक्ने भन्दै उनले उपाध्यक्ष र पार्टीको सबै जिम्मवारीबाट राजीनामा दिएको पत्र पार्टी कार्यालयका सचिवलाई बुझाएका हुन् ।
पार्टी अध्यक्षमा निर्वाचित भएपछि ओलीले नवौं राष्ट्रिय महाधिवेसनबाट पारित राजनीतिक कार्यदिशालाई कहिले पनि अबलम्बन नगरेको उनको आरोप छ।
भनेका छन्, ‘तपाईँले गर्नु भएको कामहरुलाई पटक-पटक सर्वोच्च अदालतको संवैधानिक इजलासले असंवैधानिक भन्दै खारेज गरेपछि पनि तपाईले आफूलाई सुधार गर्न सक्नुभएन ।’
जनताको बहुदलीय जनवाद -जबज) तथा मदन भण्डारीको विचार र मान्यता संविधानको सर्वोच्चता र कानूनी राज्यको सिद्धान्तलाई पालना नगरेको तथा झण्डै दुई तिहाईको जनादेशलाई लत्याएर दुई पटक संविधान विपरित संसद भंग गरेको गौतमको आरोप छ । पार्टी अध्यक्ष र प्रधानमन्त्री भएपछि पार्टीको राजनीतिक कार्यदिशा, विाधन र संगठनात्मक सिद्धान्त ‘जनवादी केन्द्रीयता’ र ‘सामुहिक नेतृत्व, व्यक्तिगत जिम्मेवारी’लाई पालना नगरेको उनको आरोप छ ।
गौतमले एमाले अध्यक्ष ओलीलाई भनेका छन्, ‘तपाईँले आफ्नो स्वेच्छाचारी तथा सर्वसत्तवादी नीति र निर्णय गर्न राष्ट्रपतिलाई समेत दुरुपयोग गर्नुभयो ।’