
रमेश भटटराई/ विराटनगर
सुनसरीको झुम्का बजारमा रहेको म्याजिक सिनेमा हलमा आगलागी नियन्त्रणमा आएकाे छ । रामधुनी नगरपालिका ५ मा रहेको उक्त हलमा आज विहान आगो लागेको हो ।
आगो नियन्त्रणभन्दा बाहिर गएपछि स्थानियबासी सहित इनरुवा, इटहरी, धरान, लौकही र बराहक्षेत्रको दमकलसहित नेपाल प्रहरी र शसस्त्र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा ल्याईएको थियो ।
चलचित्र निर्माता, निर्देशक तथा कलाकार समेत रहेका पर्शुराम चौधरिका अनुसार हलमा आगलागीबाट करोडौको क्षति भएको छ । चलचित्र प्रोजेक्सन गर्ने कन्ट्रोल रुमबाट बिजुली सट हुँदै सुरु भएको आगोले चौधरीको दुबै हातमा चोट समेत पुगेको छ ।
चलचित्र नगरी ठप्प हुदा म्याजिक सिनेमा हलपनी बिगत लामो समयदेखि बन्द थियो । तर, चौधरीले आफ्ना अफिसको दैनिकी काम सोही हलको अफिसबाट गर्दै आईरहेका थिए ।
झुम्कामा ३ ओटा हल छन् ।झुम्काको सुबिधासम्पन्न हलको रुपमा रहेको ‘म्याजिक सिनेमा’ हलमा भने चलचित्र प्रदर्शनका बेला दर्शकको उपस्थिति राम्रै हुने गर्थ्यो । कोरोनाले यो हलको पनि अवस्था धरापमा पुर्याएको थियो । अहिले आगलागी पछि अब झुम्कामा सिनेमा हल नै लोप हुने अवस्थामा पुगेको छ ।