१० भाद्र २०७८, बिहिवार
नेकपा एमालेमा विभाजन हुँदा चार जना सांसदको पद धरापमा परेको छ ।
माधव नेपालतिर लागेका चारजना सांसदलाई बुधबार निर्वाचन आयोगले सनाखतका लागि मान्यता नदिएपछि उनीहरुको पद धरापमा परेको हो ।
माधव नेपालले गत भदौ २ गते निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिँदा हस्ताक्षर नगरी बसेका संघीय सांसदहरु सोमप्रसाद पाण्डे, माया ज्ञवाली, तुलसा थापा र शारदादेवी भट्टले भदौ ८ गते एकीकृत समाजवादीमै सनाखत गर्न पाउँ भन्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए । तर, आयोगले उनीहरुको निवेदन अस्वीकार गरेको छ ।
शुरुमा नेपाल समूहमा नलागी पछि निवेदन दिएका चार सांसदमध्ये पाण्डे प्रतिनिधिसभाका प्रत्यक्ष निर्वाचित सांसद हुन् भने ज्ञवाली र थापा समानुपातिक सांसद हुन् । भट्ट राष्ट्रियसभा सदस्य हुन् ।