
९ भाद्र २०७७, मंगलवार
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) दाङको पहलमा ११ वर्षीय सडक बालकको भदौ ८ गते उद्धार गरिएको छ ।
घोराही उपमनपा–१२ घर बताउने बालक ६ वर्षदेखि घोराही बजारका सडकमा बस्दै आएका थिए । उहाँलाई तत्कालका लागि घोराही उपमनपाको सहयोगमा सञ्चालन गरिएको शान्ति बाल गृहमा राखिएको छ ।
होटेल, पसलमा मागेर खाने गरेका बालकलाई इन्सेक प्रतिनिधि जय नारायण पुनले जिल्ला बाल अधिकार समिति, घोराही उपमनपा र जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरेर तत्काल बाल गृहमा राख्ने र परिवारको खोजी गरेर परिवारमा पुनर्स्थापना गर्नेगरी बाल शान्ति गृहका सञ्चालक डा. भोलानाथ योगीको जिम्मा लगाइएको हो । उनलाई घोराही उपमनपाका नगर प्रहरी, वडा प्रहरी कार्यालय घोराहीका प्रतिनिधि, पत्रकारको रोहवरमा बाल गृहमा पठाइएको हो ।
घोराही उपमनपाका उप मेयर सिता सिग्देल न्यौपानेले बालकलाई केही दिनमै परिवारको जिम्मा लगाइने प्रतिबद्धता जनाउनु भयो । उनकी आमाको मृत्यु भएपछि कान्छी आमाले आफूलाई कुटपिट गरेको र ६ वर्ष पहिले घर छोडेर हिडेको बालकले बताउनु भयो ।