३१ श्रावन २०७८, आइतवार

नयाँ बसपार्कले कम्युटर प्रणालीको माध्यमबाट बस टिकट काट्न सुरु गरेको छ ।

काठमाडौं महानगरपालिका र ल्होत्से बहुउद्देश्यीय प्रालिबीच ‘सार्वजनिक–निजी साझेदारी’अन्तर्गत सम्झौता भई विसं २०५६ देखि सञ्चालनमा आएको नयाँ बसपार्कभित्रका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टर बनाउने उद्देश्यअनुरुप कम्युटर जडान गरी बस टिकट काट्न सुरु गरिएको हो ।

टिकट काउण्टरलाई ‘डिजिटल प्रणाली’मा लगेसँगै अब टिकट काउण्टरमा बस्ने कर्मचारीले अनिवार्य पोशाक र परिचयपत्र लगाउनुपर्ने भएको छ । प्रविधिको प्रयोगसँगै यात्रुले अब कुन कम्पनीको कति नम्बरको गाडी कुन समयमा कुन गन्तव्यस्थानमा कति यात्रु लिएर जान्छ भन्ने कुरा स्पष्ट थाहा पाउन सक्छन् ।

कम्युटर प्रणाली अपनाएसँगै गाडीमा सिट भए वा नभएको प्रष्ट थाहा पाउने हुनाले आफूले चाहेको टिकट सजिलै काट्न सकिन्छ । नयाँ बसपार्कबाट हाल ६५ भन्दा बढी जिल्लामा एसी, डिलक्स र साधारण खालका सार्वजनिक सवारी साधन आवतजावत गर्दै आएका छन् । नयाँ बसपार्कभित्रका ३२ टिकट काउण्टरले हाल कम्युटर प्रणालीमार्फत बसको टिकट काट्न सुरु गरेका छन् ।

काठमाडौं महानगरपालिकाको वडा नं २६ मा रहेको नयाँ बसपार्क ६१ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

नयाँ बसपार्क सञ्चालनवापत काठमाडौँ महानगरपालिकालाई समेत ल्होत्सेले वार्षिकरूपमा जग्गाको भाडा बुझाउँदै आएको छ ।

विसं २१०२ सम्म ल्होत्से बहुउद्देश्यीय प्रालिले सञ्चालन गर्न पाउने गरी सम्झौता भएको नयाँ बसपार्क सम्झौता अवधि सकिएपछि काठमाडौं महानगरलाई जिम्मा लगाउनुपर्ने हुन्छ । बसपार्कभित्र निर्माण गरिएका संरचनासमेत महानगरलाई बुझाउने गरी सम्झौता भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर