२८ श्रावन २०७८, बिहिवार
बीबीसी । कम्पनी सामसङले नयाँ ग्यालेक्सी जी फ्लिप ३ र फोल्ड ३ को लन्चसँगै फोल्ड गर्न मिल्ने फोनलाई पुनः केन्द्रमा ल्याउने तयारी गरिरहेको छ । यसअघि सामसङका १ हजार पाउन्ड पर्ने लक्जरी फोल्डिङ फोन, यसको मूल्यकै कारण सुरुवातमा चर्चामा आएपनि अपेक्षा गरेजति सफल हुन सकेका थिएनन् ।
यस्तोमा कम्पनीले अहिले औसत प्रयोगकर्तालाई पनि आकर्षित गर्न यसको मूल्यका साथै तुलनात्मक रुपमा बलियो र टिकाउ पनि बनाएको छ । ६.२ इन्चको डिस्प्लेबाट ‘फोल्ड ३’ लाई ७.६ इन्च स्क्रिनको ट्याबलेटमा परिणत गर्न सकिन्छ । यसमा सामसङले सेल्फी क्यामेरालाई भित्र लुकाएको हुँदा डिस्प्लेमा कुनै अवरोध देखिँदैन र स्क्रिनको बीचमा क्यामरा अदृश्य हुने बताइएको छ ।
त्यस्तै कम्पनीले यसपटक सफ्टवेयरमा सुधार ल्याउनेतर्फ पनि ध्यान दिएको छ । फोल्ड खोल्दा यो फोनका सबै फिचर ट्याबलेट जस्तै हुनेछन् । यति मात्र नभइ पहिलोपटक यो फोनलाई ‘वाटर रेजिस्टेन्ट’ अर्थात पानीमा पनि केही नहुने किसिमले निर्माण गरिएको छ । यसको सानो भर्जन, जी फ्लिपको स्क्रिन चाहिँ ६.७ इन्चको रहेको छ जसलाई आधाले फोल्ड गर्न सकिन्छ र खल्ती या पर्समा धेरै ठाउँ नओगटि सजिलै अटाउन सक्छ ।
यसको बाहिरी स्क्रिन १.९ इन्चले बढाइएको हुँदा डिभाइस नखोलि नोटिफिकेसन पढ्न सजिलो गराउँछ । बीबीसीसँग कुरा गर्दै सामसङका मार्क नोटनले फोल्डिङ फोनलाई स्मार्टफोन बजारको केन्द्रमा ल्याउने यहि सहि समय भएको बताएका छन् । उनले भने, “यत्तिका वर्षसम्म हामीले मोबाइलका हार्डवेयलगायत सबै फिचरहरुमा निरन्तर सुधार ल्याइरह्यौँ ।
हामीले प्रयोगकर्ताको अनुभवमा पनि निकै सुधार ल्याइसकेका छौँ भने ठूलो स्तरमा उत्पादन क्षमता पनि बढायौँ । त्यसैले अहिले यी सबै क्षमतालाई एकसाथ ल्याउन सक्ने स्थानमा पुगेका छौँ ।” ९४९ पाउन्डको फ्लिप ३ सामसङको पहिलो फोल्डिङ फोन हो जसलाई कम्पनीले १ हजार पाउन्ड भन्दा कममा बिक्री गर्दैछ ।
फोल्ड ३ चाहिँ १,५९९ पाउन्ड मूल्यको रहेको छ जुन गत वर्षको तुलनामा सस्तो हो । तापनि बजारमा यसलाई महङ्गो मोडलमै गनिनेछ । तर अझै फोल्डिङ फोनले बजारमा सोचेजस्तो समाधान ल्याउन सक्नेप्रति प्राविधिक विश्लेषकहरुले शंका जनाइरहेका छन् ।
फोल्डिङ फोनलाई महङ्गोमा हालेर किन्नु कसरी वैकल्पिक सस्तो फोन भन्दा राम्रो हुनेछ भन्नेबारे उपभोक्तालाई बलियो तर्क आवश्यक पर्ने बताइएको छ । किनकी तिनै फिचर भएका साधारण फोन धेरै कम मूल्यमा उपलब्ध छन् । कम्पनीको सबैभन्दा ठूलो प्रतिस्पर्धी, एप्पल, यो ट्रेन्डका पछि नलाग्नुले पनि फोल्डिङ फोन सम्बन्धी उपभोक्ताको माग र आवश्यकताबारे थप प्रश्न उत्पन्न गराउँदै आएको छ ।
सीसीएस इन्साइट कन्सल्टेन्सीका बेन वुडका अनुसार नयाँ फोल्ड ३ मा ग्यालेक्सी नोट सिरिजका केही उल्लेख्य फिचरहरु पनि राखिनेछ जसले फोल्डिङ फोनलाई पुनः सबैको केन्द्रमा ल्याउने सामसुङको विश्वास छ ।