
२८ श्रावन २०७८, बिहिवार
गत शनिबारदेखि बेलायती प्रधानमन्त्री निवास नजिक आफ्ना माग पूरा गर्न आमरण अनशन गरिरहेका भूपू गोर्खाहरूको आन्दोलनप्रति बेलायतको प्रमुख प्रतिपक्ष दल लेबर पार्टीले ऐक्यबद्धता जनाएको छ ।
विपक्षी लेबर पार्टीले बोरिस जोनसन नेतृत्वको वर्तमान सरकारलाई ब्रिटिस आर्मीसँगै जोडिएर लडेका गोर्खाहरूलाई दिँदै आएको असमान पेन्सन अपमानजनक रहेको र यसको अन्त्य गर्न भनेको छ । पार्टीका छायाँ रक्षामन्त्री स्टेफन मोर्गनले परराष्ट्र सचिवलाई यसअघि नै पत्र लेखेर असमान पेन्सनका बारेमा तत्काल कदम चाल्न भनिसकेको बताए ।
अनशनरतमध्येका एक धन गुरुङले भने, “हाम्रो पुर्खाले यो देश बचाउन प्राण आहुति गरे, अब हामीले न्यायका लागि प्राण त्याग्न तयार हुनुपरेको छ ।”
यसै सन्दर्भमा रक्षा मन्त्रालयका प्रवक्ताले बेलायती सेनामा गरेको ठूलो योगदानको मूल्याङ्कन गरेर गोर्खाहरूको उपचार र पेन्सनको व्यवस्था गरेको तथा बेलायतको पेन्सन प्रावधानलाई ध्यानमा राखी उचित र न्यायोचित पेन्सन वितरण गर्न प्रतिबद्ध रहेको बताएका छन् ।रासस