२८ श्रावन २०७८, बिहिवार

कोरोना समुदायस्तरमै फैलिन थालेपछि सरकारले जनस्वास्थ्यका मापदण्ड कार्यान्वयन गर्न आमनागरिकलाई अपिल गरेको छ । साउन महिनाको हालसम्म दैनिक कोरोना परीक्षणदर हेर्दा संक्रमित हुनेदर २० देखि २५ प्रतिशतको हाराहारीमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर कोरोना संक्रमणदर उच्च रहेको छ । काठमाडौं उपत्यकासहित देशभरका १९ जिल्लामा ५ सय बढी सक्रिय संक्रमित छन् । जसअन्तर्गत प्रदेश १ को मोरङ, सुनसरी, झापा र बाग्मती प्रदेशको काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, दोलखा, नुवाकोट रहेका छन् ।

यस्तै, गण्डकी प्रदेशको नवलपरासी पूर्व, कास्की, बागलुङ, गोरखा, स्याङजा, तनहुँ लुम्बिनी प्रदेशको रूपन्देही र कर्णाली प्रदेशको सुर्खेतमा ५ सय बढी सक्रिय संक्रमित रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। कृष्ण पौडेलले साउनको हालसम्मको अवस्थालाई हेर्दा प्रत्येक चार जनाको कोरोना परीक्षण गर्दा एक जनामा संक्रमण देखिने गरेको बताए । उनले भने, ‘संक्रमणदर बढ्दो क्रममा रहेको छ । अनिवार्य मास्क प्रयोग, भौतिक दूरी कायम र बेलाबेला मिचीमिची साबुनपानीले हात धुनुपर्छ । संक्रमितको संख्या घटाउन मापदण्ड पालनामा हेलचेक्र्याइँ गर्नुहुँदैन ।’

निषेधाज्ञा खुला गर्दा र जनस्वास्थ्यका मापदण्ड पालना नगर्दा संक्रमणदर बढ्ने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण छ । सरकारले आगामी मंसिरसम्म १ लाख ९३ हजार ८ सय ५६ नयाँ संक्रमित थपिने प्रक्षेपण गरेको छ ।

स्वास्थ्य सेवा विभागअन्तर्गत राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक शिला श्रेष्ठले मास्कको समुचित प्रयोगबाट महामारी नियन्त्रणमा टेवा पुग्ने बताइन् । सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुनले कोरोना संक्रमणदर बढ्दो क्रममा रहेको भन्दै मास्कको समुचित प्रयोग, भौतिक दूरी कायम र सरसफाइमा ध्यान दिनुपर्ने बताए ।

यस्तै, बुधबार देशभर थप ३ हजार ४ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार १० हजार ९ सय ७ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ६ सय १६ र ५ हजार ७ सय ४९ जनाको एन्टिजेन परीक्षण गर्दा ६५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा देशभर १ हजार ८ सय ८५ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । बुधबार ३० जना संक्रमितको मृत्यु भएको छ । हाल देशभर ३८ हजार ३३ जना सक्रिय संक्रमित रहेको छ । हाल ७ सय ९६ जना आईसीयूमा र १ सय ८४ जनाको भेन्टिलेटरमा राखी उपचाररत रहेका छन् । देशभर ३ सय ९९ जना क्वारेन्टाइनमा रहेका छन् ।

झन्डै २९ लाखले लगाए कोरोनाविरुद्ध पूर्णखोप
हालसम्म २८ लाख ८८ हजार ३ सय ६० जनाले कोरोनाविरुद्ध पूर्णखोप लगाएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १० लाख ८३ हजार ४ सय ३ जनाले भेरोसिल खोपको पूर्ण मात्रा लगाएका छन् ।

यस्तै, ५ लाख ९७ हजार ८ सय १९ जनाले कोभिसिल्ड र १२ लाख ७ हजार १ सय ३८ जनाले जोन्सन एन्ड जोन्सन खोपको पूर्ण मात्रा लगाएका छन् ।

नेपालमा हाल कोभिसिल्ड, भेरोसेल र जोन्सन एन्ड जोन्सनको खोप उपयोगमा आएको छ । अहिलेसम्म ४५ लाख ७० हजार ५ सय ५३ जनाले खोपको पहिलो मात्रा लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सरकारले कुल जनसंख्याको ७२ प्रतिशत अर्थात् २ करोड १७ लाख ५६ हजार ७ सय ६३ लाई कोभिड खोप लगाउने लक्ष्य लिएको छ । जसमध्ये हालसम्म २१ दशमलव १ प्रतिशतले पहिलो मात्रा र १३ दशमलव २८ प्रतिशतले दोस्रो मात्रा खोप पाएका हुन् ।

यस्तै, स्वास्थ्य मन्त्रालयले विद्यार्थीलाई खोप उपलब्ध गराउने निर्णय गरेको छ । परीक्षा भइरहेका विश्वविद्यालयका विद्यार्थीले प्रवेशपत्रको आधारमा खोप लगाउन पाउने भएका हुन् । यसअघि २५ साउनमा नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी युनियन र अखिल छैठौंले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई भेटेर विद्यार्थीहरूलाई खोप दिने व्यवस्था मिलाउन आग्रह गरेका थिए ।

स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखा निर्देशक डा। तारानाथ पोखरेलले विद्यार्थीहरूलाई प्रवेशपत्रका आधारमा खोपको पहिलो मात्रा उपलब्ध गराउन सबै स्वास्थ्य कार्यालयलाई परिपत्र गरिएको बताए ।यो समाचार राजधानी दैनिकमा छापिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर