२४ श्रावन २०७८, आइतवार
बेनी–जोमसोम सडक छ दिनपछि सञ्चालनमा आएको छ । अन्नपूर्ण गाउँपालिका–३ काभ्रेमा खसेको पहिरो र स्थानीयवासीको अवरोधका कारण साउन १८ गतेदेखि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात बन्द भएको थियो ।
मुस्ताङका जनप्रतिनिधि, दुवै जिल्लाका प्रशासन, सुरक्षा निकाय र बेनी–जोमसोम–कोरला सडक आयोजनाको पहलमा स्थानीयवासीसँग सहमति गरेर सडक मर्मत गरी शनिबार साँझदेखि यातायात सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जानकारी दिएको छ।
सडक विस्तारका क्रममा पहिराले क्षति पुर्याएको जग्गा जमिनको क्षतिपूर्ति र जोखिममा परेका बस्ती संरक्षण माग गर्दै काभ्रेका बासिन्दाले सडक मर्मत र निर्माणमा अवरोध गरेका थिए ।
बेनी –जोमसोम सडक अवरुद्ध हुँदै म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङ जिल्लाका स्थानीयवासी समस्यामा परेका थिए । आवतआवतका लागि गाडी परिवर्तन गर्नुपर्ने झन्झट थियो । ढुवानी र निकासी ठप्प बनेको थियो ।
बिरामीलाई अस्पताल लैजान समस्या भएको थियो ।मर्मतपछि सडकमा रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।









