२३ श्रावन २०७८, शनिवार

सर्वसाधारणको भान्सामा प्रतिदिन प्रयोग हुने खाने तेलको मूल्य छोइनसक्नुभएको छ । चार महिनाको अवधिमा यसको मूल्य प्रतिलिटर ६० रुपैयाँसम्म बढेको खुद्रा व्यापार संघको तथ्यांक छ । अन्य खाद्यवस्तुको मूल्य स्थिर रहे पनि खाने तेलको मूल्य अचाक्ली बढिरहेको छ ।

‘कारण केही छैन । तर अन्तर्राष्ट्रिय बजारमा बढेको बहानामा मूल्यवृद्धि गरियो,’ खुद्रा व्यवसायी चन्द्र थापाले भने, ‘कोभिडको अवसर पारेर मनलाग्दी गरे । कोभिडले थलिएका सर्वसाधारणलाई यसले थप मार परेको छ ।’ मूल्यवृद्धि भए पनि सरकारी निकायले ध्यान दिएका छैनन् । न त गुणस्तर परिक्षणमै उनीहरूको चासो छ ।

२०७७ चैत १२ मा प्रतिलिटर २६० देखि ३०० रुपैयाँ पर्ने भुटेको तोरीको तेलको मूल्य अहिले ३२० देखि ३६० रुपैयाँ छ । प्रतिलिटर २०० रुपैयाँ पर्ने काँचो तोरीको तेलको मूल्य बढेर संघले २०७८ साउन १७ मा २६० रुपैयाँ तोकेको छ । भटमास र सनफ्लावरको तेल अनि डाल्डा घिउको मूल्य पनि अचाक्ली वृद्धि भएको संघले जनाएको छ ।

उद्योगीहरूले घट्ने बेला प्रतिलिटर ५ रुपैयाँ घटाए पनि बढ्दा एकै पटक १५ देखि २० रुपैयाँसम्म वृद्धि गरेको संघका महासचिव अमूलकाजी तुलाधरले बताए । ‘उचारचढावसँगै पछिल्लो निषेधाज्ञामा तेलको मूल्य सामान्य घटेको थियो । अहिले फेरि एक्कासि बढेको छ,’ उनले भने, ‘कारण नै छैन । हामीले सिधै फ्याक्ट्रीलाई सोध्न सक्दैनौं । तर होलसेलले फ्याक्ट्रीमै बढ्यो भन्छन् ।’ उद्योग र होलसेलमा मूल्य बढ्दा अनुगमन गर्ने निकाय भने चुप लागेको तुलाधरको आरोप छ । ‘लकडाउनका बेला कच्चा पदार्थ भित्रिएको थिएन । तर अन्तर्राष्ट्रिय बजारमा बढेको दाबी गर्दै मूल्य बढाइन्छ,’ उनले भने, ‘मूल्य बढ्नुको आधार, मापदण्ड के हो, त्यो नियमन हुनुपर्थ्यो । तर हुन सकेन ।’ २०७७ चैत ८ मा प्रतिलिटर २२० रुपैयाँ रहेको भटमास तेल २०७८ साउन १७ मा २३५ रुपैयाँ, प्रतिलिटर २२५ रुपैयाँ पर्ने सनफ्लावर तेल २५० रुपैयाँ पुगेको संघले जनाएको छ । १८० रुपैयाँको डाल्डा घिउ बढेर २२० रुपैयाँ पुगेको छ । केही पसलमा संघले निर्धारण गरेको मूल्यभन्दा पनि बढीमा बिक्री भइरहेको पनि उपभोक्ताकर्मी बताउँछन् । यद्यपि, नियामक निकाय भने मौन छन् । सरकारले मूल्य घटाउन निर्देशनबाहेक केही नगरेको उपभोक्ताकर्मीहरूको आरोप छ । कान्तिपुर दैनिकले लेखेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर