
पत्रपत्रिका
राजधानी दैनिकवाट
२२ श्रावन २०७८, शुक्रवार
पछिल्लो चरणमा पार्टीहरू विभाजित हुने र फेरि एक हुने क्रम बढेर गएको छ । विभाजन र एकताको प्रक्रिया पनि अलि विशिष्ट प्रकृतिको देखिएको छ । त्यो हो, विभाजनसँगै एकताको कुरा र एकतासँगै विभाजित पक्षहरूको समानान्तर समावेशिताका कुरा । त्यसका साथै एकताको माग त गर्ने तर एकता प्रक्रियामा प्रवेश नगर्ने वा कुनै कुरा बोलेर वा गतिविधि गरेर भाँजो हाल्ने ।
हाल नेपाल कम्युनिस्ट पार्टी एकीकृत माक्र्सवादी–लेनिनवादी (नेकपा एमाले) र जनता समाजवादी पार्टी (जसपा)को एकतामा यही कुरा देखिएको छ । भिन्नता केमा छ भने एमाले दुई खेमाले एकअर्कालाई बिथोल्ने गरिरहेका छन् । जसपाका दुई खेमा भने एक अर्कामा कम तिक्ततापूर्ण व्यवहार गर्नुका साथै एकता गरांै गरौं भनिरहेका छन् ।
एकता मोडल यस अर्थमा दुई भिन्न प्रक्रियाबाट गुज्रने देखिएको छ । दुवैको एकता त हुन सकिरहेको छैन तर प्रक्रिया पनि टुंगिएको छैन । आगामी आवधिक निर्वाचन सन्निकट छ । त्यसैले यी दुई पार्टीका दुई खेमा एकापसमा विभाजित भएर पनि रहनुको कुनै औचित्य छैन । यसले निर्वाचनमा दुवै खेमाको हारभन्दा अर्को परिणाम ल्याउनेछैन ।
नेकपा एमाले र जसपा हालै मात्र खोलिएका नयाँ पार्टी होइनन् । यी पुराना पार्टी हुन् । विगत इतिहास बोकेका पार्टी पनि हुन् । यिनका नेता पुरानामध्येका नेतामा पर्छन् । तर, यिनै नेता एकापसमा विभाजित छन् ।
यिनीहरूबीच विचारमा खासै भिन्नता नभए पनि मन भाँचिएको छ । तर, यिनका कार्यकर्ता, शुभेच्छुक र शुभचिन्तक भने पार्टी एकता भए हुने थियो भन्ने व्यक्त अपेक्षामा छन् । बोलि पनि रहेका छन् । पुराना पार्टी भएकाले यी पार्टी नयाँ पार्टीजस्तो हलक्क मौलाएर जाने पनि देखिँदैनन् । पुराना पार्टी हुन्, विचार, नारा, नेता, कार्यक्रम नयाँ पनि छैनन् ।
जुँघा र इगोको लडाइँ चर्को देखिन्छ । त्यसैले नयाँमा जस्तो विचार बहसबाट टुंगो लाग्ने सम्भावना पनि छैन । त्यसो भए एकता के हुन्छ त ? एकता एकीकरण र ध्रुवीकरणबाटै हुन्छ । पार्टी त्यही प्रक्रियाले मात्र जोडिन्छ । अरू प्रयास त फगत समयको बर्बादी मात्र हुन जानेछ । यो कुरा यी दुई पार्टीका दुई खेमाबीच एकताको एक मात्र विकल्प हो ।
त्यसैले यी दुई पार्टीको हालसम्म एकताका नाममा चलिरहेको प्रक्रियालाई हेर्दा एमालेको ध्रुवीकरणतिर र जसपाको एकीकरणतिर सोझिएको देखिन्छ । जसपा बहुमत र अल्पमतको दुई खेमा मिल्ने मिलाउने एकीकरणको पक्षमा लागेको देखिन्छ ।
एमालेमा भने एक शीर्ष नेताले अर्को शीर्ष नेतालाई नंग्याउने र अर्को पक्षका जुनियर नेता तथा कार्यकर्तालाई आफ्नो पक्षमा ल्याउनेगरी ध्रुवीकरणको एकता अघि बढाएको देखिन्छ । यी मोडल नेपालको राजनीतिमा नयाँ मोडल नभए पनि चलिरहेको प्रक्रियाका भावभूमिमा यिनले वर्तमान परिवेशमा ल्याएको राजनीतिक तरंगले भने देश तताउने गरिरहेको छ ।
लोकतन्त्रमा राजनीतिक दलहरू फुट्नुहँुदैन । दल फुट्दा त्यसले लोकतन्त्रलाई कमजोर बनाउँछ । त्यसैले एमालेका दुवै पक्षमा वुद्धि पलाउने नै छ । दल कमजोर भए आफूहरूको राजनीतिक भविष्य छैन भन्ने कुरा उनीहरूले समयमा नै बुझेर पार्टीलाई एकजुट राख्नुमा नै उनीहरू सबैको हित छ ।