
२० श्रावन २०७८, बुधवार
महाकाली नदी पार गर्ने क्रममा जयसिंह धामी बेपत्ता भएको घटनाबारे अध्ययन गर्न गठित छानबिन समितिको टोली दार्चुला पुगेको छ।
गृह मन्त्रालयले घटनाबारे छानविन गर्न सचिव जनार्दन गौतमको संयोजकत्वमा गठन गरेको समितिको टोली दार्चुला पुगेको हो।
समितिमा सुदूरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्नता भट्ट सदस्य छन्।
साउन १५ गते व्यास गाउँपालिका वडा नं. २ बस्ने जयसिंह धामी तुइन तर्ने क्रममा महाकाली नदीमा बेपत्ता भएका थिए। नेपाली भूभागबाट भारत प्रवेश गर्न लागेका बेला भारतीय सीमा सुरक्षा बल एसएसबीका दुई जवानले तुइन फुकालिदिएको र धामी महाकाली नदीमा खसेको प्रत्यक्षदर्शीले बताउँदै आएका छन्।