
पत्रपत्रिका
श्रीप्रसाद प्रसाई,
राजधानी दैनिकवाट
२० श्रावन २०७८, बुधवार
राजनीतिक अवसरवादी यानेकी ‘राजनीतिक भतुवा’ शब्द सुन्नमै अशिष्ट छ । कसलाई राजनीतिक भतुवा वा अवसरवादी भनिएको हो भन्ने कुराले धेरैलाई आश्चर्य पनि लाग्न सक्ला । उमेर र शारीरिक अवस्था तन्दुरुस्त भए पनि परिश्रम गर्न नचाहने काम गर्नको दुःखले अरूको घरघरमा डुलेर सित्तैमा भात मागी खान पल्किएको लाछी व्यक्ति भतुवा हो भन्ने कुरा नबुझ्ने नेपाली सायदै होलान् । तर, सर्वसाधारणको घरको भातको सट्टामा जनविश्वास र जनमतलाई नै बिक्री गरी खाने राष्ट्रिय बजेट नै खाने, सम्पत्ति आर्जन गर्नकै निम्ति राजनीतिमा लाग्ने तथा नैतिक इमानदारिता र राजनीतिक सिद्धान्तलाई नै बन्धकमा राख्ने अवसरवादी, नकावधारी राजनीतिज्ञलाई यहाँ राजनीतिक भतुवाको संज्ञा दिइएको छ । राजनीतिक भतुवाले राजनीतिलाई सेवा होइन आर्जनको पेसा बनाएको हुन्छ । समाज सेवाको नामबाटै उसले आर्जन गर्छ । जनमतलाई त उसले गैरकानुनी कार्य गर्ने लाइसेन्स ठान्छ । माउपार्टीमा अवसर कम देखिए दल परिवर्तन गरेरै भए पनि अनर्गल फाइदा लिन भतुवा पछि पर्दैन । दल परिवर्तन त भतुवाका निम्ति सबैभन्दा ठूलो अवसर बन्छ । अन्ततः यही प्रवृत्तिमा आशक्त हुँदा ऊ पतन हुँदै जान्छ ।
राजनीतिक भतुवाबारे अझै विस्तृत रूपमा बुझ्न हामीले राजनीतिक नेताहरूकै व्यवहार र कार्यशैलीबारे अध्ययन गर्नुपर्ने हुन्छ । वास्तविक राजनीतिज्ञकै रूपमा परिचित हुन व्यक्तिमा विशेष राजनीतिक खुबी र दक्षता हुनै पर्छ । यसैले राजनीति गर्ने सबै व्यक्ति राजनीतिज्ञ हुँदैनन् । सेवाभावना, अटुट जनविश्वास, नैतिकता, इमानदारिता र सरकारात्मक सोचको कसीमा उत्तीर्ण सिद्धान्तवादी व्यक्ति राजनीतिज्ञका रूपमा चिनिन्छ । जस्तोसुकै विषम परिस्थितिमा पनि राजनीतिज्ञ आफ्नो सिद्धान्तबाट विचलित हुँदैन । तर, यो वर्गमा पर्ने आदर्श राजनीतिज्ञ नेपालमा विरलै मात्र छन् । राजनीतिमा आबद्ध अधिकांश व्यक्ति भने मध्यमार्गी छन् । मध्यमार्गी यस अर्थमा कि उनीहरू राजनीतिक उद्देश्य लिएरै आबद्ध भए पनि अवसरलाई नै सर्वोपरि ठान्छन् यिनीहरूमा राजनीतिज्ञको जस्तो उच्च राजनीतिक इमानदारिता हुँदैन । तथापि आफ्नो दलीय सिद्धान्त र मूल्य मान्यताबाट हम्मेसी यिनीहरू विचलित हुँदैनन् ।
स्वार्थमा नैतिकताको सम्झौता नगर्ने तर मौका पर्दा पछि पनि नहट्ने भएकाले यो वर्गका राजनीतिकर्मीलाई मध्यमार्गी भनिएको हो । हाम्रो राजनीतिक क्षेत्रमा यही वर्गका राजनीतिकर्मीको बाहुल्यता छ । सबै दलका शीर्षस्थ नेताहरूको भविष्य पनि यही समूहका राजनीतिकर्मीको साथ सहयोग र विश्वासमा सुनिश्चित रहन्छ । सत्ता फेरबदल गर्नेसम्मको महत्वपूर्ण हात यही समूहको समर्थनमा आधारित हुने भएकाले पार्टीका अधिकांश शीर्षस्थ नेताले यस समूहलाई यथाशक्य रिझाएर राखेका हुन्छन् । पार्टीको महत्वपूर्ण भूमिकमा यही समूहको प्रभाव हुन्छ ।
अर्को तेस्रो वर्गमा पर्ने राजनीतिकर्मी भने राजनीतिक भतुवा हुन् । यिनीहरूसँग राजनीतिक सिद्धान्त र मूल्यमान्यता भन्ने कुरा हुँदैन । यो समूहले अवसरकै निम्ति राजनीति गर्ने भएकाले कुन दलमा आबद्ध भए, कुन नेतालाई साथ दिए तत्कालै लाभ प्राप्त हुन्छ भन्ने कुरामा यिनीहरू निपूर्ण हुन्छन् । यिनीहरूसँग न त नैतिकता नै हुन्छ न त जनताप्रतिको आत्मीय सद्भाव । आफूमा निहित इज्जत र प्रतिष्ठालाई राजनीतिक भतुवाले आर्थिक लाभसँग विनिमय गर्छन् । राजनीतिक भतुवा चिन्न हामीले यिनीहरूको आचरण र कार्य विशेषता केलाउनुपर्नेहुन्छ । राजनीतिक भतुवाको पहिलो विशेषता नजरिया मिजास र नम्रता हो । मत पट्याउन जनताको आत्मामा सियो भएर पस्ने तर आफ्नो स्वार्थ पूरा भएपछि फाली भएर निस्कने राजनीतिक भतुवाको अर्को विशेषता हो । अत्यन्त मृदुभाषी र मिजासिलो व्यवहारले जनताको मन जित्ने, यस्तो गर्छु उस्तो गर्छु भनी चिप्लो घसेर आकाश पाताल कुरा हाँक्ने, मतदातालाई उतिखेरै मन्त्रमुग्ध बनाउने कलामा यिनीहरू पारंगत हुन्छन् । यो व्यक्ति सत्तामा पुगे केही गर्छ भन्ने अनुभूति दिलाएर जनमत आकर्षित गराउने तर निर्वाचनमा विजयी भएपछि भने जनतालाई फर्किएर सम्म नहेर्ने राजनीतिक भतुवाको विशेषता हो ।
राजनीतिक भतुवालाई प्रश्रय दिने वा निरुत्साहित गराउने भन्ने कुरो दलका शीर्षस्थ नेताको व्यवहार र कार्यशैलीमा आधारित हुन्छ
यसैगरी, भतुवाको अर्को विशेषता पार्टीलाई धोका दिनु हो । अधिकांंश भतुवाको पहिलो नजर शीर्षस्थ नेतामा केन्द्रित हुन्छ । प्रभावशाली दलमा कसरी प्रवेश गर्ने ? शीर्षस्थ नेतालाई रिझाएर चुनावी टिकट कसरी हत्याउने ? तथा पार्टीको झन्डा कसरी बोके चुनावमा आफ्नो स्थान मजबुत बनाउन सकिन्छ ? भन्ने कलामा भतुवा पारंगत हुन्छन् । यिनीहरूको नजरिया प्रभावले पनि टिकट हत्याउन मद्दत पु-याउँछ । यिनीहरूको सत्ताप्रतिको आकर्षण नै लाभमा आधारित रहन्छ । यस वर्गमा सामान्य मात्र होइन नाम चलेकै व्यक्ति पनि संलग्न रहन्छन् । भतुवाले पार्टी र मतदातालाई स्वार्थ पूरा गराउने औजार बनाउँछन् । राजनीतिक अस्थिरता त भतुवाको अवसर बन्छ । दल र मतदाताप्रतिको जिम्मेवारी देखावटी मात्रै हुने भएकाले त्यसले लाभ प्राप्त गर्न कुनै छेकबार लगाउँदैन । न त भतुवाले आफूलाई अवसर प्रदान गर्ने दल र नेताप्रति नै आत्मीय सद्भाव नै राखेका हुन्छन् ।
मुलुकमा निम्तिएको पछिल्लो राजनीतिक तनावको समयमा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विखण्डित भएपछि कतिपय नाम चलेकै साबिकको नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका केही जिम्मेवार व्यक्ति पद र लाभकै आकर्षणले माउपार्टी त्यागेर नेकपा एमालेमा आबद्ध भए ।
यस्तै, प्रवृत्तिका अन्य भतुवाको पछिल्लो कार्यकालमा बोलबाला नै हुँदै आएको सर्वविदितै छ । लज्जास्पद राजनीतिक प्रवृत्तिमा आबद्ध हुने भतुवाहरू सबै राजनीतिक दलमा छन् । उनीहरूले सिंगो पार्टी पंक्तिलाई मात्र होइन आममतदातालाई नै धोका दिँदै आएका छन् । यस्तो दुर्गन्धित राजनीति अन्त्य नभएसम्म मुलुकको राजनीति स्वच्छ, पारदर्शी एवं सिद्धान्तमा आधारित हुन सक्दैन । स्मरणीय कुरा के हो भने दल परिवर्तन सामान्य हो । नेतृत्व स्वैच्छाचारी भए, पार्टी सिद्धान्तविपरीत सञ्चालित भए, वैचारिक बहसै गर्न नपाउने अवस्था सिर्जित भए, पार्टी परिवर्तन गर्न सकिन्छ । तर, विशेष परिस्थिति बेगरै स्वार्थलाई सर्वोपरि ठानी दल परिवर्तन गर्ने व्यक्तिको स्वभाव भने भतुवा हो ।
भतुवाले जनमतलाई अवसर मात्र होइन अपराधकै लाइसेन्स बनाएका दृष्टान्त पनि अनेकौं छन् । अपराधको राजनीतिकरण गर्ने प्रवृत्ति मौलाइरहेको अवस्थामा कतिपय दलकै शीर्षस्थ नेता एवं कार्यकारी प्रधानमन्त्रीकै आश्रयमा भतुवा अपराधिक कार्यमा हावी हुने क्रम पनि बढ्दै आएको छ । अपराधीलाई संरक्षण गर्न तल्लो तहदेखि उपल्लो तहकै नेता लागिपर्छन् । यही कारणले राजनीतिक व्यक्ति संलग्न उच्च परिणामको भ्रष्टाचार, अवैध राष्ट्रिय एवं अन्तर्राष्ट्रिय तस्करी ठेकापटामा धाँधली, उच्च पदस्थ पदाधिकारीको राजनीतिक नियुक्तिसमेतका कार्यहरू लाभको दृष्टिले नेताका निम्ति आकर्षक बन्दै आएका छन् ।
पदीय दायित्व सम्पादन गर्न व्यक्ति सक्षम र दक्ष छ÷छैन भन्ने कुरा हेरिँदैन, कसलाई नियुक्ति दिलाए तुलनात्मक रूपमा बढी लाभ प्राप्त हुन्छ भन्ने मानसिकताले नेताको मनमस्तिष्कमा जरा गाडेको देखिन्छ । कहलिएको भ्रष्ट त राजनीतिक नियुक्तिका लागि सबैभन्दा योग्य ठानिन्छ । उच्चस्तरीय राजनीतिक भ्रष्टलाई कार्यकारी प्रधानमन्त्री केपी शर्मा ओलीकै कार्यकालबाट बचनको सुनपानी छर्किएर कञ्चन बनाउने प्रवृत्ति प्रारम्भ भएपछि भने राजनीतिक भ्रष्ट कानुनभन्दा माथि बन्दै आए । यस्तो प्रवृत्ति सञ्चालन गराउन भतुवाकै भूमिका महत्वपूर्ण हुने गर्छ ।
राजनीतिक भतुवाले आफूलाई धोका दिँदै आएको कुराप्रति सर्वसाधारण नागरिक अझै सचेत देखिँदैनन् । सिद्धान्तको राजनीति अँगाल्ने, देश र जनताप्रति इमानदार बन्ने, समाजको हित केन्द्रित राजनीतिमा आबद्ध हुने, तथा निष्ठाको राजनीतिलाई सर्वोपरि ठान्ने, कुशल राजनीतिज्ञमा हुने विशेषता हुन् । सिद्धान्तमा अडिग राजनीतिकर्मीको निम्ति स्वार्थभन्दा नैतिक इमानदारिता ठूलो हुन्छ । सिद्धान्तप्रति उनीहरू सधैं अडिग रहन्छन् । आफ्नो राजनीतिक धरातल उनीहरूका लागि अत्यन्त प्रिय हुन्छ । दलभित्र वैचारिक विवाद, वादप्रतिवाद र संवाद गरी सर्वमान्य सिद्धान्त प्रतिपादन गर्छन् ।
कसैको स्वैच्छाचारिता र हैकमवाद उनीहरूका निम्ति स्वीकार्य हुँदैन । तार्किक बहसको विषय पनि सैद्धान्तिक एवं विकृति र विसंगतिकै अन्त्यका निम्ति हुने भएकाले त्यो सर्वस्वीकार्य हुन्छ । तर, आफ्नै स्वार्थमा आसक्त व्यक्तिका निम्ति भने वैचारिक बहस, स्वस्थ्य टीकाटिप्पणी र आलोचना कहिल्यै पनि स्वीकार्य हुन सक्दैन । स्वार्थमा आशक्त अवसरवादीका निम्ति सबै प्रकारका स्वस्थ आलोचना सुनियोजित षड्यन्त्र मानिन्छ । स्वस्थ आलोचनालाई शिक्षाको रूपमा लिनु त परैजाओस् आलोचकलाई नै शक्तिको प्रभावमा वशमा राख्ने दुष्प्रयास गर्दा ढिलो चाँडो स्वैच्छाचारिता धराशायी बन्छ ।
सेवा भावना, अटुट जनविश्वास, नैतिक र इमानदारिता र सरकारात्मक सोचको कसीमा उत्तीर्ण सिद्धान्तवादी व्यक्ति राजनीतिज्ञका रूपमा चिनिन्छ
वैचारिक बहस सबै पार्टीमा हुनै पर्छ । वैचारिक बहस र तर्क वितर्क भएन भने दलीय सिद्धान्त सुदृढ बन्दैन । एमालेमा मात्र होइन, सत्तारूढ नेपाली कांग्रेसलगायतका अन्य सबै दलमा वैचारिक बहस सम्बद्ध आन्तरिक वैमनस्य रहँदै आएको छ त्यो स्वाभाविक हो । वर्तमान प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाकै विपक्षमा कतिपय पार्टीकै नेताहरू लागि पर्दै आएका छन्, भविष्यमा पनि यो क्रम रहिरहन्छ, त्यो राजनीतिक विशेषता हो । पार्टीभित्र हुने स्वच्छ प्रतिस्पर्धाले नेतृत्वमा स्वेच्छाचारिताको उदय हुन दिँदैन । यसले नेतृत्वलाई लगाम लगाएर सही बाटोमा डो¥याउने भएकाले दलीय मूल्य मान्यता अक्षरशः पालन गर्नैपर्ने बाध्यात्मक अवस्था सिर्जना गराउँछ ।
तत्कालका लागि लाभप्रद भए पनि भतुवाको राजनीतिक जीवन दीर्घकालसम्म अपहेलित बन्छ । उनीहरू अन्य राजनीतिकर्मी जस्तो सम्मानित र मर्यादित हुँदैनन् । वास्तविक रूपमा भतुवाको राजनीति न ओल्लोघाट न पल्लो तीरजस्तो स्थिर नभै नदीको बहाव सँगसँगै अनन्तकालसम्म बगिरहने भएकाले सबैको नजरमा भतुवाहरू घृणाको पात्र बन्छन् । यसरी शीर्षस्थ नेताले भतुवालाई संरक्षण दिएर राजनीतिक क्षेत्र दूषित बनाउने कार्य नगरुन् । यसको साथै भतुवालाई सर्वसाधारण नागरिकले पनि चिनेर बहिष्कार गरे राजनीतिक भतुवाहरू क्रमशः निरुत्साहित बन्दै जानेछन् । मुलुकको राजनीतिक सुदृढीकरण गर्न यो कोसेढुंगा नै साबित हुनेछ ।