७ भाद्र २०७७, आइतवार
आइतवार आफ्नो जन्मदिन मनाइरहेकी ‘छक्का पञ्जा’की निर्देशक दीपाश्री निरौला एक टेलिभिजन अन्तर्वार्तामा दिएको अभिव्यक्तिका कारण विवाद र आलोचनाको पात्र बनिन् । अभिनेता राजेश हमालको महानायक पदवीमाथि प्रश्न उठाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ता उनीमाथि गालीगलौजमा उत्रिए ।
अन्तर्वार्ता दिने क्रममा आफू बडी ल्याङ्वेज र शब्द चयनमा चुकेको भन्दै अभिनेता हमालका प्रशंसकसँग माफी माग्दा पनि उनी ट्रोलको शिकार भइन् । सामाजिक सञ्जालमा उनीमाथि भइरहेको अशिष्ट टिप्पणीलाई रोक्न अभिनेता राजेश हमालले सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै उनलाई माफी दिन आफ्ना प्रशंसकलाई आग्रह गरेपछि यो विवाद साम्य भयो ।
उक्त विवादपछि मौन रहेकी दीपाश्रीले आफ्नो जन्मदिनको अवसरमा सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै तीन दशकको कला यात्रामा आधा समय दुःखमा वितेको र अहिले काममा सफलता मिले पनि व्यक्तित्व विकासका कुरामा आफूमा अझै कमजोरी रहेको बताएकी छन् ।  भन्छिन्, ‘यी कुराले मलाई ठूलो शिक्षा दियो । ठूलो आँधि बेरी आउँदा रुखका कुहिएका फलहरु झरे झैँ यो घटनाले ममा भएका कमी कमजोरी झार्‍यो ।’ उक्त अन्तर्वार्तामा आफूबाट तीनवटा गल्ती भएको उनी स्वीकार गर्छिन् ।

घरमा विवाहको माहोल चलिरहँदा विना तयारी अन्तर्वार्तामा जानु, अन्तर्वार्तामा घोचिला-पेचिला प्रश्नका कारण आफ्नो आवेगलाई कन्ट्रोल गर्न नसक्दा बडी ल्याङ्वेजमा समस्या आउनु र एक कलाकार भएर अग्रज कलाकार (राजेश हमाल) प्रति टिप्पणी गर्नु आफ्ना प्रमुख गल्ती रहेको उनको भनाई छ । उनले आफूबाट भएका गल्तीका लागि दर्शकसँग पुनः माफी पनि मागेकी छन् ।
शुभचिन्तक तथा आफन्तहरुको माया, साथ र हौसलाले आफू उठ्न सफल भएको बताउँदै उनले भनेकी छन्, ‘आज मेरो जन्मदिनमा केही प्रण गर्न चाहन्छु । अब कहिल्यै यस्ता गल्तीहरु दोहोर्‍याउँदिनँ । आफ्नो व्यक्तित्व विकासमा पनि समय खर्चिन्छु । अझ राम्रो फिल्म बनाउने कोशिश गर्नेछु ।’ उनले राजेश हमालका फ्यानसँग आफूलाई माफी दिन पनि आग्रह गरेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर