
६ श्रावन २०७८, बुधवार
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी एकताका लागि वरिष्ठ नेता माधवकुमार नेपाललाई एमालेको दोस्रो अध्यक्ष बनाउन तयार भएका छन्।
बुधबार बसेको एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्नेक्रममा ओलीबाट यस्तो भनाइ आएको हो।
तीन दिनदेखि जारी केन्द्रीय कमिटी बैठकले नेपालसहित २२ जना सांसदलाई पार्टीबाट कारबाही किन नगर्ने? भन्दै स्पष्टीकरण सोधेका बेला ओलीले नेपाललाई नै अध्यक्ष बनाउन सकिने धारणा राखेका हुन्।
‘हामी पार्टी एकताका लागि हदैसम्म लचिलो छौं, अन्तिमसम्म पनि एकताका लागि प्रयास जारी छ’, बैठकमा ओलीले राखेका भनाईलाई उद्धृत गर्दै एमालेका एक केन्द्रीय सदस्यले भने, ‘माधव नेपालले मिल्ने हो भने, दोस्रो अध्यक्ष मागेमा मैले भनेको छु, पार्टी एकता बचाउन माधव नेपाल आउँछन् भने दोस्रो अध्यक्ष दिन म तयार छु।’
ओलीले एमाले एकता कार्यदलले गरेको १० बुँदे सहमति कार्यान्वयन गर्न आफू प्रतिबद्ध रहेको र एकता भएमा पार्टीका सबै संरचनालाई २०७५ जेठ २ कै अवस्थामा क्रियाशील गराइनेसमेत बताए।
‘तर, मैले यति भन्दा पनि एकताप्रति इच्छा देखाइएको छैन, अनेक बहाना खोजिएको छ’, बैठकमा ओलीले भनेका थिए, ‘त्यसपछि पनि केन्द्रीय कमिटीमा बहुमत चाहियो भनिरहेका छन्, किन? हामीलाई पार्टीबाट निकाल्न? ढुक्क हुनुस् कमरेडहरु, त्यसो चाहिँ हुन दिइने छैन।’
एमालेको नवौं महाधिवेशनबाट ओली अध्यक्ष निर्वाचित भएका थिए। ओलीसँग थोरै मतान्तरले नेपाल अध्यक्षमा पराजित भएका थिए।
त्यसक्रममा ओलीले संसदमा आफ्नै पार्टीको सरकारका विरुद्ध मत हाल्ने अनैतिक, अराजनीतिक र आपराधिक कार्य भएको टिप्पणीसमेत गरेका थिए। ‘तर पनि मैले फिँजमा भए पनि केही घिउ लागिहाल्छ कि भनेर मही मथेको मथ्यै छु, म थाकेको छैन कमरेडहरु’, ओलीले बैठकमा भने, ‘एकताका लागि कुनै कञ्जुस्याइँ गरिएको छैन, गरिने छैन।’
एमालेको नवौं महाधिवेशनबाट ओली अध्यक्ष निर्वाचित भएका थिए। ओलीसँग थोरै मतान्तरले नेपाल अध्यक्षमा पराजित भएका थिए।