
६ श्रावन २०७८, बुधवार
उदयपुरको त्रियुगा नगपालिका–८ उत्तराई टोलमा खुुकरी प्रहारबाट एक वृद्धको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार खुकुरी प्रहारबाट मृत्यु हुने वृद्ध उत्तराई टोलका ६५ वर्षीय मोहिकर चौधरी रहेका छन्। हत्यामा संलग्न त्रियुगा–१३ का ४५ वर्षीय किसन सदा रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सदा केही समययतादेखि चौधरीको घरमा कामदारका रूपमा बस्दै आएका थिए। बिहान सामान्य विवादपछि सदाले चौधरीकै घरको खुकुरी झिकेर टाउकोमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटना हुनासाथ स्थानीयवासीले प्रहरीमा खबर गरेपछि जिल्ला प्रहरीको टोली घटनास्थलमा पुगेर अहिले शवको मुचुल्का सर्जमिन गर्ने कार्य सुरु गरेको छ।
हत्यामा संलग्न सदा र खुकुरी प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी उदयपुरका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले बताए।