
पत्रपत्रिका
अन्नपूर्णपोष्टवाट
३ श्रावन २०७८, आइतवार
प्रवेश निषेध गरेर तारजालीले बाहिरबाट घेरिएको विराटनगर महानगरपालिका–४ स्थित विराटनगर विमानस्थलको धावनमार्गनजिक गत माघमा एउटा नीलगाई मृत भेटियो।
घटनाको प्रकृति हेर्दा घेराबारा नाघेर बाहिर आउने क्रममा त्यहीँ अड्किएर नीलगाई मरेजस्तो देखिन्थ्यो।
विमानस्थलको निषेधित क्षेत्रभित्रको केराघारीनजिक जंगली जनावर मरेको देखेपछि स्थानीय बासिन्दाले नागरिक उड्डयन कार्यालय विराटनगरलाई जानकारी गराए। विमानस्थल प्रशासनको आग्रहमा डिभिजन वन कार्यालय मोरङले मृत नीलगाईको व्यवस्थापन ग¥यो।
विमानस्थलनजिक घर भएका विराटनगर–४ का गंगा राय तारजालीले घेरिएको निषेधित क्षेत्रभित्र सधैँ नीलगाई चरिरहेको देख्छन्। ‘प्राय दिनमा चार/पाँचवटासम्म चरिरहेका हुन्छन्।
तिर्खा लागेपछि घेराबाराभित्रकै नहरमा झरेर पानी पिउँछन्,’ उनले भने, ‘तारजाली लगाइएको विमानस्थलको निषेधित क्षेत्रभित्र ठूलो केराखेती र काँसघारी छ। पटेर केरा र काँसघारीले नीलगाई लगायतका जंगली जनावरलाई बस्न, लुक्न र चर्न साह्रै सजिलो भइदियो।’
गंगाका अनुसार केराघारीभित्र स्याल, जंगली कुकुरलगायतका वन्यजन्तु छन्। केरा र काँसघारीले जंगली जनावरलाई सुरक्षित बासस्थान मिलेकाले विराटनगर विमानस्थलमा दुर्घटनाको ठूलो जोखिम निम्तिरहेको उनको भनाइ छ।
गंगाले भनेजस्तै पूर्ण निषेधित र विमानस्थलका सुरक्षाकर्मी एवं अनुमतिप्राप्त कर्मचारीले मात्रै प्रवेश पाउने विराटनगर विमानस्थलको ठूलो क्षेत्रफलभित्र व्यवसायिक केराखेती गरिएको छ।
हवाई एवं मानवीय सुरक्षाका दृष्टिले अति नै संवेदनशील मानिने निषेधित क्षेत्रभित्र १४ बिघा क्षेत्रफलमा गरिएको केराखेतीका कारण दुर्घटनाको ठूलो जोखिम रहेको स्थानीय चन्द्रशेखर शर्माको भनाइ छ।
केराखेती र काँसघारीले दुर्घटनाको ठूलै जोखिम निम्त्याएको विषयमा बारम्बार विमानस्थल प्रशासनको ध्यानआकर्षण गराए पनि सुनुवाइ नभएको उनले बताए।
एक सय २२ बिघा क्षेत्रफलमा फैलिएको विमानस्थलको दक्षिण–पश्चिम क्षेत्रको खाली जमिन कृषि प्रयोजनका लागि भन्दै आर्थिक वर्ष २०७५/०७६ देखि २०७७/०७८ सम्मलाई नागरिक उड्डयन कार्यालयले राधा श्री इन्टरनेशनल कम्पनीलाई ठेक्कामा दिएपछि निषेधित क्षेत्रभित्र व्यवसायिक केराखेती लगाइएको हो।
तीन वर्षको पाँच लाख ५५ हजार (वार्षिक एक लाख ८५ हजार) तिर्ने सर्तमा लगाइएको ठेक्काको अवधि यसै वर्षको असार मसान्तसम्म मात्रै रहे पनि ठूलो क्षेत्रफलमा विस्तार गरिएको केराखेती हटाउने सुरसार छैन।
त्यसअघि कृषि प्रयोजनका लागि भनेर व्यक्तिलाई ठेक्कामा लगाइएको थियो।
तर सम्झौता अवधिभर व्यक्तिले जमिन उपभोग नगरेको भन्दै कौडीको भाउमा अर्को ठेक्का लगाइएपछि व्यवसायिक रूपमा गरिएको केराखेतीले विमानस्थललाई जोखिमपूर्ण बनाएको हो।
पटक–पटक विराटनगर विमानस्थलको स्थलगत अनुगमन गरिसकेका डिभिजन वन कार्यालय मोरङका सहायक वन अधिकृत परमेश्वर पासवानले दुर्घटनाको ठूलो जोखिमलाई नकार्न नसकिने बताए। ‘तारघेराभित्र दुईवटा नीलगाई मृत भेटिसकिएको छ।
खुलेआम चरिरहेका नीलगाई र स्यालसमेतको गतिविधि एवं चहलपहल त्यहाँभित्र धेरै हुन्छ,’ उनले भने, ‘व्यवस्थापनका लागि विमानस्थलले वन कार्यालयलाई आग्रह गरेको थियो। स्थलगत अनुगमनपछि केरा र काँसघारी तत्काल हटाउनुपर्ने सुझावसहितको रिपोर्ट बुझाइएको छ।’
पासवानले तत्काल केराखेती र काँसघारी नहटाएमा जुनसुकै बेला विमान दुर्घटना र ठूलो क्षतिको जोखिम रहेको औंल्याए।
‘विमानस्थलको धावनमार्गनजिक ठूलो काँसघारी र पटेर केराघारी छ,’ उनले भने, ‘पानीको निकासका लागि लगाइएका ह्युम पाइपले जंगली जनावरलाई लुकेर बस्न सजिलो भएको छ।’ केरा र काँसको घारीले उपयुक्त प्राकृतिक बासस्थान मिलेपछि विमानस्थल छेउमा जंगली जनावरको गतिविधी बढेको उनको भनाइ छ।
‘जहाज अवतरण र उडानका बेला धावनमार्गतिर जंगली जनावर निस्किँदा दुर्घटना भएर ठूलो क्षति बेहोर्नुपर्ने अवस्था आउनसक्छ,’ उनले भने, ‘धावनमार्ग वरपर साँझ परेपछि जंगली जनावरको चहलपहल बढ्ने गर्छ।’
काँस भएको धावनमार्गनजिकको घाँसे मैदानमा चर्न जाने नीलगाईले अचानक धावनमार्ग पार गरिदियो भने ठोक्किएर विमान दुर्घटना हुनसक्ने पासवानको भनाइ छ।
उनका अनुसार साँझका समयमा धावनमार्ग छेउछाउमा बल्ने बत्तीको वरपर आउने किरा खानलाई लाटोकोसेरो लगायतका चराचुरुङ्गी भेला हुन्छन्। चराचुरुङ्गीले स्याललाई आकर्षित गर्ने उनले बताए।
‘किरा खान चरा र चरा खान स्याल धावनमार्ग पुग्छन्,’ पासवानले भने, ‘अचानक स्यालले धावनमार्ग पार गरिदियो भने अवतरण एवं उडानका क्रममा रहेको विमानमा ठोक्किएर दुर्घटना हुने भएकाले विमानस्थल असुरक्षित छ।’
उनका अनुसार धावनमार्ग वरपर पाँच सयभन्दा बढी स्यालहरु रहेको अनुमान छ।
विमानस्थलले १२ वर्षअघि स्याल मार्ने अभियान चलाएको थियो। तर पछि त्यो अभियान रोकियो।
पासवानका अनुसार विमानस्थलका कर्मचारीसहित केहीअघि अनुगमन गर्दा आधा घण्टाभन्दा कम समयमा धावनमार्ग वरपर १० वटाभन्दा बढी स्याल भेटिएका थिए।
‘स्याल, नीलगाई लगायतका जनावरलाई लुक्न एवं चर्न केरा र काँसघारी उपयुक्त छ।
पिउने पानी पनि उपलब्ध छ,’ उनले भने, ‘नीलगाईले विमानस्थलका कर्मचारीले लगाएको तरकारी नै खाइदिँदो रहेछ।
जंगली जनावरको बासस्थान नबनाउनलाई केरा, काँसघारीसमेतका झाडीयुक्त बोटविरुवा हटाए मात्रै विमानस्थल सुरक्षित हुन्छ।’
विभिन्न ठाउँबाट चर्दै आइपुग्ने नीलगाई जीर्ण बनेका र मर्मत सम्भार नगरिएका तारजाली तोडेर विमानस्थलको निषेधित क्षेत्रभित्र पस्ने तथा केराघारीमा बस्ने गरेको सहायक वन अधिकृत पासवानले बताए।
‘विमानस्थलको घेराबारा नै वन्यजन्तुलाई ओहोरदोहोर गर्न सजिलो हुने खालको छ।
अझ मर्मत सम्भारको अभावमा तारजाली जीर्ण बनेको छ,’ उनले भने, ‘चराकै कारण त विमान दुर्घटना हुन्छ। वन्यजन्तुले झन् जोखिम हुने नै भयो।’
नागरिक उड्ययन कार्यालय विराटनगरका प्रमुख उत्सवराज खरेलले वन्यजन्तु र चराचुरुङ्गीको चहलपहलले विमान दुर्घटनाको जोखिम बढेको स्वीकार गरे।
तर विमानस्थलको खाली जमिन त्यत्तिकै छाड्नुभन्दा राज्यलाई राजस्व मिल्ने भएकाले सुरक्षित तरिकाले प्रयोग गर्न ठेक्का लगाउने गरिएको उनको भनाइ छ।
उनका अनुसार तीन वर्षे ठेक्का अवधि सकिएको र उडानमा पनि अवरोध पुग्ने भएकाले केराखेती हटाउन भनिसकिएको।
तर विमानस्थलले व्यवसायिक एवं कृषिजन्य खेतीका लागि भनेर धान र जडिबुटी लगाउने गरी उक्त जग्गा अत्रि कन्सट्रक्सनलाई तीन वर्ष (२०७८–२०८०)का लागि पाँच लाख २५ हजार रुपैयाँमा ठेक्का दिइसकेको छ।
खरेलले व्यवस्थापन एवं समस्या समाधानका लागि आग्रह गरिसकिएका कारण स्थानीय प्रशासन र वन कार्यालयबाट वन्यजन्तुको सुरक्षित स्थानान्तरण हुने पर्खाइमा विमानस्थल रहेको बताए।
खरेलका अनुसार विमानस्थलको धावनमार्ग वरपर झाडीजन्य वस्तु लगाउन नपाइने नियम छ।
‘पहिले जानेर वा नजानेर केराखेती लगाउन दिइरहेको रहेछ। अब त्यसको समय सकियो,’ उनले भने, ‘वन कार्यालयले दिएको रिपोर्टका आधारमा हटाउने प्रक्रिया सुरु हुन्छ।
विमानस्थललाई फाइदा पुग्ने भएकाले आम्दानीका लागि केराखेती नष्ट गरेर कम उचाई भएका एवं झाडी नभएका र कृषिजन्य उत्पादनका लागि अर्को ठेक्का लगाइएको छ।’
विमानस्थल सञ्चालनमा कुनै समस्या उत्पन्न हुन नदिने र आवश्यक मापदण्डको पूर्ण पालना गर्दै सुरक्षित तरिकाले उपभोग गर्नेगरी ठेक्का सम्झौता भएको खरेलको भनाइ छ।
सेफ्टी स्ट्यान्डर्ड डिपार्टमेन्टले सुरक्षा विश्लेषण एवं परीक्षण गरेर विमानस्थल सुरक्षित छ भनेर प्रमाणित गरिदिएकाले कृषि प्रयोजनका लागि खाली जमिन ठेक्कामा लगाइएको दाबी उनले गरे।
सुरक्षित उडान र अवतरणका लागि विमानस्थलको धावन मार्गनजिक कुनै पनि किसिमका स्थिर वस्तु, अग्लाअग्ला घर, टावर र रुख हुन नहुने स्पष्ट नियम रहेको खरेलले बताए।
त्यही भएकाले पछिल्लो समय समस्या आउनसक्ने अग्ला बोटबिरुवा हटाएर उब्जिनी दिने सामान्य किसिमका खेतीपाती गर्न दिइएको उनको भनाइ छ।
ठेक्का सम्झौताको उल्लंघन र उड्डयनलाई असर गर्ने गतिविधि भएमा ठेक्का सम्झौता रद्ध गरेर कारबाही थालिने उनले बताए।
‘ठेक्का दिएको भए पनि ढुक्कसँग बस्दैनौं,’ खरेलले भने, ‘नियमित अवलोकन, निरीक्षण र रिपोर्टिङ भइरहेको हुन्छ।’
ठेक्का दिएको क्षेत्रभित्र कुनै पनि क्रियाकलाप चित्त नबुझेमा वा शंकास्पद लागेमा कम्पनीसँग तत्काल स्पष्टीकरण मागेर सम्झौता रद्ध गर्दै कारबाही अघि बढाइने उनको भनाइ छ।