२४ असार २०७८, बिहिवार

बहराइनमा  अवैधानिक अवस्थामा रहेर काम गरिरहेका नेपाली श्रमिकहरुले पनि कोरोनाबिरुद्धको खोप लगाउन पाउने भएका छन् ।

नेपाली दूतावासले  सूचना जारी गर्दै बहराइनमा अवैधानिक भएर गैरकानुनी रुपमा काम गरिरहेका नेपाली श्रमिकहरुलाई तत्काल कोरोना विरुद्धको खोप लगाउन आग्रह गरेको छ ।

नेपालबाट बहराइन प्रवेश गर्ने हरेक नेपालीहरुको अभिलेख बहराइनको अध्यागमनसँग हुन्छ, जसमध्ये कतिले भिसा नवीकरण गराए, कति नेपाल फर्किएको भए पनि केही श्रमिक कागजातविहीन भएर काम गरिरहेका छन् भन्ने जानकारी बहराइन सरकारसँग रहेको भन्दै तत्काल खोप लगाउन दूतावासले भनेको छ ।

केही समय अघिमात्र दूतावासले त्यहाँका ३ विभिन्न ठाउँबाट चाँडै खोप उपलब्ध हुने बताउँदै खोप लगाउनका लागि अनलाइनमा नाम दर्ता गर्न अनुरोध गरेको थियो ।

तर, न्यून व्यक्तिहरुले मात्र खोप लगाउन अनलाइन फारम भरेको भन्दै स्वास्थ्य सुरक्षाका लागि कोही पनि नेपाली खोप लगाउनबाट बन्चित नहोस् भनेर पुन: सूचना जारी गरेको दूतावासले जनाएको छ ।

बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले सबैलाई आफ्नै नागरिक सरह व्यवहार गरेकोमा बहराइन सरकारलाई धन्यवाद दिँदै त्यहाँ रहेका सबै नेपालीलाई ढुक्क भएर खोप लगाउन पटक-पटक आग्रह गर्दै आएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर