२१ आषाढ २०७८, सोमवार
नेकपा एमालेको नेपाल समुहले सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएका हस्ताक्षर फिर्ताका लागि गरिएको आह्वानको समय आज सकिदैछ ।
शुक्रवार बसेको एमाले केन्द्रीय कमिटी बैठकले आज साँझ ५ बजेसम्म हस्ताक्षर फिर्ता गर्न निर्देशन दिएको थियो ।
हस्ताक्षर फिर्ता गराउने प्रयास स्वरुप आइतवार संस्थापन पक्षका नेताहरुले नेता नेपालसहित नेपाल पक्षीय नेताहरुसँग छलफल गरेका थिए ।
हस्ताक्षर फिर्ता गराएर पार्टी एकताको सन्देश दिन उपमहासचिव विष्णु पौडेल लगायत नेताहरुले आइतवार बिहान माधव नेपालसँग छलफल गरेका थिए भने
आइतवार राति नेपालपक्षीय प्रभावशाली नेता भीम रावलले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए ।
फागुन २३ गते सर्वोच्च अदालतले नेकपा एकता भंग गर्दै एमाले व्युताइदिएपछि पार्टी एकतापूर्व जेठ २ को अवस्थाबाट पार्टी संचालन गर्नुपर्ने भन्दै अन्तरसङ्घर्ष चलाएको छ ।
कर्णाली प्रदेशमा माओवादी नेतृत्वको सरकार जोगाउन फ्लोर क्रस गरेको, बागमती प्रदेशमा पार्टी उम्मेदवार विरुद्ध बागी खडा गरेको तथा केन्द्रमा देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेपछि एमाले भित्रको विवाद उत्कर्षमा पुगेको छ ।