२० आषाढ २०७८, आइतवार

समुदायस्तरमा फैलिएको कोरोना भाइरस सङ्क्रमणले जनस्वास्थ्यमा चुनौती निम्त्याइरहेको छ । दोस्रो लहरको कारोनाका कारण समुदायका अधिकांश घरपरिवार सङ्क्रमित भइरहेका छन् ।

सङ्क्रमणको समस्या भएको देश र खास गरी भारतबाट भित्रिनेको सम्पर्कमा आउनेको गर्नुपर्ने ‘कन्ट्याक्ट ट्रेसिङ’ र भित्रिनेलाई समयमै क्वारेन्टिन अथवा आइसोलेशनमा राख्नमा देखिएको कमीकमजोरीले कोरोना समुदायस्तरसम्म फैलिएको स्वास्थ्यकर्मीको बुझाइ छ ।

सेती प्रादेशिक अस्पताल कोभिड–१९ उपचार विभागका प्रमुख डा शेरबहादुर कमर दोस्रो लहरको सङ्क्रमणको समस्या देखिँदा धेरै बिरामी एकसाथ अस्पताल पुग्दा भएका भौतिक तथा जनशक्तिको पूर्वाधारले धान्न नसकेर उपचार व्यवस्थापनमा चुनौतीको सामना गर्नु परेको बताउँछन् ।

रिँगटा लाग्ने, कमजोरी महशुस हुने जस्ता स्वास्थ्य समस्या देखिएको धनगढीका एक जनाले बताउनुभयो । सङ्क्रमण र मृत्यु हुने दर केही घटेको देखिए पनि सङ्क्रमणको जोखिम यथावत् रहेको बताइन्छ । आगामी दिनमा तेस्रो लहरको भाइरस फैलिने जोखिम कायम रहेको छ ।

प्रमुख डा कमरले कोरोनाका नयाँ नयाँ भेरिएन्ट देखिन थालेकाले आगामी दिनमा जोखिम छैन भनेर भन्न नसकिने बताउनुहुन्छ । स्वास्थ्य निर्देशनालय दीपायलको तथ्याङ्कका अनुसार कोरोनाको सङ्क्रमण फैलिएयता प्रदेशमा ७२ हजार ९२ जनाको एन्टिजेन परीक्षण गरिँदा आठ हजार ५५२ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यसैगरी एक लाख ९३ हजार ९३ जनाको पिसिआर परीक्षण गरिँदा ३५ हजार ३१२ जनामा सङ्क्रमण भएको छ । सङ्क्रमित ५७१ जनाको मृत्यु भएको छ । एन्टिजेन पद्धतिबाट गरिएको नमूना परीक्षणमा सङ्क्रमित हुनेमध्ये सात हजार ९७८ र पिसिआर पद्धतिबाट गरिएको नमूना परीक्षणमा सङ्क्रमित हुनेमध्ये ३४ हजार ९४५ जना उपचार व्यवस्थापन पछि घर फर्किनु भएको छ ।

कोरोना भाइरसविरुद्धको खोपका बारेमा शुरुको अवस्थामा यसको प्रभावकारिता हुन्छ वा हुँदैन भन्नेमा धेरैमा शङ्का थियो । तर अहिले यो खोपले काम गर्ने रहेछ भन्ने सबैमा परेको छ । डा कमरले यो रोगविरुद्ध खोप लगाउने व्यक्तिमा सङ्क्रमण भइहालेमा दीर्घ रोगीबाहेक कसैको मृत्यु भएको नदेखिएको, कतिपयमा सङ्क्रमण भएर पनि जटिल अवस्था नदेखिएको र समग्रमा कोरोना सङ्क्रमणको दर घटाएको पाइएको बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर