काठमाडौं, २०७८ असार १४ गते
उदयपुर, बेलका नगरपालिका-८ बाट करिब १ किलो अवैध लागूऔषध गाँजा सहित भोजपुर, हचुवागडी गाउँपालिका-४ बस्ने १८ वर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । को.१ च ३४२९ नम्बरको बोलेरोलाई अस्थायी प्रहरी पोष्ट कोठुबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी बोलेरोमा सवार उनलाई पक्राउ गरेको हो ।
नवलपरासी (पूर्व), गैंडाकोट नगरपालिका-११ भेडाबारीस्थित सन्तोष राईस मिलको मेसिन चालक सोही ठाउँ बस्ने बाबुराम महतोलाई करिब १ किलो ६ सय ग्राम अवैध लागूऔषध गाँजा सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । बाबुरामले गाँजा लुकाई बेचबिखन गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट बेल्डियाबाट खटिएको प्रहरीले उक्त राईस मिलमा लुकाई राखेको उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो । साथै गाँजा किन्न आएका गैंडाकोट नगरपालिका-१० पितौजी बस्ने २८ वर्षीय कृष्ण थापा मगर समेतलाई प्रहरीले पक्राउ गरेको छ ।
तेह्रथुम, लालिगुरास नगरपालिका-४ चित्रे बजारबाट नियन्त्रित लागूऔषध २० पिस प्रिगावा, २३ पीस स्पामो र ३ पिस प्रिगेस्टार सहित धनकुटा महालक्ष्मी नगरपालिका-२ बस्ने १८ वर्षीय किशोर समेत ४ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी बिट चित्रेबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
बारा, जितपुरसिमरा उपमहानगरपालिका-७ जितपुरबाट करिब १५ किलो अवैध लागूऔषध गाँजा सहित पर्सा पकहा मैनपुर गाउँपालिका-१ बस्ने ३६ वर्षीय राज महमद मिया हजामलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । जितपुरबाट वीरगंजतर्फ जाँदै गरेको साइकललाई ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले जाँच गर्दा उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ पिपलचौतारास्थित सडकबाट करिब १५ किलो अबैध लागूऔषध गाँजा सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा गढिमाई नगरपालिका-४ बागवाना बस्ने २६ वर्षीय बिनोद चौधरी र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन् ।
ना.५३ प ४०५७ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।









