एजेन्सी– यूरो कपको नकआउट चरण अर्थात् अन्तिम १६ अन्तर्गत आज आइतबार राति दुई खेलहरु हुँदैछन् ।

आज हुने पहिलो खेलमा नेदरल्यान्ड्स र चेक रिपब्लिक भिँड्दा दोस्रो खेलमा बेल्जियम र पोर्चुगल प्रतिस्पर्धा गर्ने छन् ।

हंगेरीको पुस्कास एरिनामा हुने नेदरल्यान्ड्स र चेक रिपब्लिकबीच खेल राति ९:४५ बजेदेखि प्रारम्भ हुनेछ ।

दुबै टिम जीत निकाल्दै अन्तिम आठमा पुग्न चाहन्छन् ।

यस खेलको विजेताले क्वाटरफाइनलमा डेनमार्कसँग खेल्नेछ ।

नेदरल्याण्ड्सले समूह सी को विजेता बन्दै नकआउट चरणमा स्थान बनाएको हो ।

समूह चरणमा शतप्रतिशत जीत निकालेको नेदरल्याण्ड्सले ३ खेलमा ९ अंक जोडेको थियो ।

नेदरल्याण्ड्सले पहिलो खेलमा युक्रेनलाई ३-२ ले हराएको थियो भने दोस्रो खेलमा अष्ट्रियालाई २-० ले हराएको थियो ।

समूह चरणको अन्तिम खेलमा नर्थ म्यासेडोनियालाई ३-० गोल अन्तरले पराजित गरेको थियो ।

चेक रिपब्लिकले भने समूह डी बाट नकआउट चरणमा स्थान बनाएको हो ।

समूह चरणमा तेस्रो स्थानमा रहेको चेक रिपब्लिकले उत्कृष्ट तेस्रो हुँदै अन्तिम १६ मा स्थान बनाएको हो ।

चेक रिपब्लिकले ३ खेलमा ४ अंक जोडेको थियो ।

समूह चरणको पहिलो खेलमा स्कटल्याण्डलाई २-० ले हराएको चेक रिपब्लिक दोस्रो खेलमा क्रोएसियासँग १-१ गोलको बराबरीमा रोकिएको थियो ।

त्यस्तै अन्तिम खेलमा चेक रिपब्लिक इङ्ल्याण्डसँग १-० ले पराजित भएको थियो ।

स्पेनको सेभियामा बेल्जियम र पोर्चुगलबीचको खेल राती १२:४५ बजे सुरु हुनेछ ।

दुबै टिम जी निकाल्दै अन्तिम आठमा पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

यस खेलको विजेताले क्वाटरफाइनलमा इटालीसँग खेल्नेछ ।

बेल्जियम समूह बी को विजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

फिफा वरीयताको शीर्ष स्थानमा रहेको बेल्जियमले ३ खेलमा ९ अंक जोडेको थियो ।

बेल्जियमले समूह चरणको पहिलो खेलमा रुसलाई ३–० ले हराएको थियो ।

दोस्रो खेलमा बेल्जियमले डेनमार्कलाई २-१ ले हराएको थियो ।

त्यस्तै समूह चरणको अन्तिम खेलमा बेल्जियमले फिनल्याण्डलाई २-० ले हराएको थियो ।

पोर्चुगल भने ग्रुप अफ डेथ मानिएको समूह एफ बाट नकआउट चरणमा पुगेको हो ।

साविक विजेता समेत रहेको पोर्चुगलले समूह चरणमा ३ खेलमा ४ अंक जोडेको थियो ।

पोर्चुगल समूहको तेस्रो स्थानमा रहेको थियो । तर, पोर्चुगल समूहको उत्कृष्ट तेस्रो टिम बन्दै नकआउट चरणमा पुगेको हो ।

समूह चरणको पहिलो खेलमा पोर्चुगलले हंगेरीलाई ३-० गोल अन्तरले पराजित गरेको थियो ।

तर, दोस्रो खेलमा पोर्चुगल जर्मनीसँग ४-२ गोल अन्तरले पराजित भएको थियो ।

समूह चरणको अन्तिम खेलमा पोर्चुगलले फ्रान्ससँग २-२ गोलको बराबरी खेलेको थियो ।

बेल्जियम र पोर्चुगलबीच ठूला प्रतियोगितामा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो ।

यस अघिको पाँच खेलमा भने पोर्चुगलको नतिजा राम्रो रहेको छ ।

पोर्चुगलले बेल्जियमविरुद्ध ३ जीत निकाल्दा २ खेल बराबरी खेलेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर