
प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर जारी गरेको चुच्चे नक्सालाई कसैले पनि मेटाउन नसक्ने बताएका छन् ।
निवर्तमान परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आफ्नो तीनवर्षे कार्यकालमा गरेका भाषणहरु संकलन गरेर प्रकाशन गरेको पुस्तकको बालुवाटारमा विमोचन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘नेपालको भूभाग समेटिएर छापिएको नक्सा, जसलाई हामी प्रचलित भाषामा चुच्चे नक्सा भन्छौं, अब त्यो चुच्चे नक्सालाई कसैले पनि मेटाउन सक्दैन ।’
नेपालको विदेश नीतिले पनि चुच्चे नक्सा जस्तै ठोस आकार लिएकाले कसैले मेटाउन नसक्ने उनको दाबी छ । ओली सरकारको विदेश नीतिबारे आलोचना भइरहेको बेला प्रधानमन्त्री ओलीले भने विदेश नीति लयबद्ध भइसकेको र कुनै पनि दुविधा नरहेको दाबी गरे । ५० मिनेट लामो भाषण गरेका ओलीले नेपालको परराष्ट्र नीतिबारे लामो व्याख्या गरेका छन् । तर, भारतसँग रहेका विवाद र विमतिका विषयहरुमा भने यसपटक एकदमै नरम र सांकेतिक रुपमा मात्र असन्तुष्टि व्यक्त गरे ।
छिमेकीसँग चलाखीले काम लिँदैनौं
प्रधानमन्त्री ओलीले नेपालले दुई छिमेकी मुलुकसँग सन्तुलित सम्बन्ध राख्न चाहेको उल्लेख गरे । नेपालको छिमेकीसँग सन्तुलित सम्बन्ध राख्ने, तर चलाखीले काम नलिने भन्दै उनले भने, ‘कूटनीति भनेर हामी चलाखीले काम लिन चाहँदैनौं । छिमेकीहरुसँग इमान्दार, सन्तुलित सम्बन्ध राख्न चाहन्छौ । एउटाको विरुद्ध अर्काे कार्ड खेल्ने काम पनि गर्दैनौं ।’
छिमेक सम्बन्धमा कुनै असमझदारीहरु भए त्यसलाई हटाउने नीति लिएको उनले बताए । छिमेकीसँग समस्या छन् भने हटाउने, छैनन् भने पैदा हुन नदिने र पैदा भइहाले शान्ति र सम्वादको बाटोबाट समस्या चाहेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।