
नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा बुधबार साँझ बसेको विपक्षी गठबन्धनको बैठकले अब सडक संघर्ष अघि बढाउने सहमति गरेको हो। विपक्षी गठबन्धनका शीर्ष नेताबीच देशका प्रमुख शहरमा प्रतिनिधि सभा विघटनविरुद्ध प्रदर्शन गर्ने सहमति भएको जनाइएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ जेठमा प्रतिनिधि सभा विघटन गरी कात्तिक र मंसीरमा मध्यावधि चुनाव घोषणा गरेकी थिइन्। त्यतिवेलै विपक्षी गठबन्धनले राजनीतिक र कानूनी लडाइँ लड्ने घोषणा गरेको थियो।
तर, कोरोनाभाइरसको दोस्रो लहरका कारण देशभर निषेधाज्ञा लागू गरिएको थियो। जसले गर्दा विपक्षी गठबन्धनले सडक आन्दोलन नगरेर कानूनी लडाइँ थालेको थियो।
नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा १४६ सांसदले सर्वोच्च अदालतमा निवेदन दिएका थिए। त्यसमा अहिले सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ जारी छ।
अहिले निषेधाज्ञा खुकुलो हुन थालेपछि विपक्षी गठबन्धनले सडक आन्दोलन पनि अघि बढाउने निष्कर्ष निकालेको हो। देशका प्रमुख शहरमा प्रदर्शन गर्नेगरी आन्दोलनका कार्यक्रम तय गर्न कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का, एमाले नेता भीम रावल, माओवादीका नेता देव गुरुङ र जसपा नेता राजेन्द्र श्रेष्ठलाई जिम्मेवारी दिइएको छ।
चार दलको कार्यदले तय गर्ने आन्दोलनका कार्यक्रममाथि शीर्ष नेताको बैठकमा छलफल हुनेछ। त्यसपछि देशव्यापी रूपमा प्रदर्शन गरिने भएको छ।
कांग्रेस सभापति देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चा अध्यक्ष दुर्गा पौडेल लगायतको बैठकले प्रतिनिधि सभा विघटनविरुद्ध सडक संघर्षका लागि भ्रातृ संगठन पनि परिचालन गर्ने निष्कर्ष निकालेको छ। सडक आन्दोलन गर्दा भौतिक दूरी कायम राख्न भनिएको छ। हिमालखबर