
नेपाल टेलिकमले अप्रत्याशित रुपमा दुई घण्टा जीएसएम मोबाइल सेवा अवरुद्ध भएको भन्दै माफी मागेको छ । आज बिहान ६ बजेदेखि ८ः१५ बजेसम्म सिस्टम समस्या आएपछि मोबाइल सेवा अवरुद्ध भएको थियो ।
‘कुनैपनि उपकरण र प्रविधिमा यदाकदा समस्या आउन सक्ने वास्तविकता नकार्न नसकिने भए तापनि यस अप्रत्याशित समस्याका कारण कम्पनीको सेवामा आएको अवरोधबाट ग्राहकवर्गलाई पर्न गएको असुविधाप्रति कम्पनी क्षमाप्रार्थी छ’, टेलिकम प्रवक्ता राजेश जोशीले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
टेलिकमले जिएसएम मोबाइलको दुईजी, थ्रीजी र फोजी प्रविधिको डाटा सेवामा समस्या नदेखिएको, कम्पनीले हालै सञ्चालनमा ल्याएको भीओएलटीईमा पनि समस्या नआएको दावी गरेको छ । यस्तै जीएसएम मोबाइलका केही फिचर फोनमा समस्या नदेखिएको जानकारी प्राप्त भएको भन्दै टेलिकमले मुख्यतः स्मार्ट फोन सेटहरुमा भ्वाइस सेवा अवरुद्ध हुन गएकोले समस्याको गहन विश्लेषण गर्ने कार्यलाई निरन्तरता दिइएको उल्लेख गरेको छ ।
कम्पनीका सेवाहरु अवरुद्ध हुन नदिन प्रिभेन्टिभ मेन्टिनेन्सका कार्यहरु गर्ने गरिएको भएतापनि समस्या आइहालेमा न्यूनतम समयमा सेवा सुचारु गर्न कम्पनी सधैं तत्पर रहिरहने समेत जनाइएको छ ।