
लेनोभोको स्वामित्वमा रहेको मोटोरोला कम्पनीले एउटा यस्तो स्मार्टफोन सार्वजनिक गरेको छ, जसलाई साबुनले धोएर सफा गर्न सकिन्छ । मोटोरोलाको यो फोनको नाम ‘मोटोरोला डेफे’ हो ।
‘मोटोरोला डेफे’ ले आईपी ६८ रेटिङ प्राप्त गरेको छ । साथै यो फोन मिलिट्री स्ट्याण्डर्ड सर्टिफाइड फोन हो । मोटोरोलाका अनुसार मोटोरोला डेफे डुअल सिल्ड हाउजिङको साथमा आएको छ । यसको अर्थ यो फोन ५ फिट गहिरो पानीमा ३५ मिनेटसम्म सुरक्षित रहनसक्छ ।
यसबाहेक बालुवा, धुलो, नुन र आद्रताले समेत यो फोनमा कुनै असर पार्दैन । मोटोरोला डेफेको भाइब्रेसन र ड्रप टेस्टसमेत गरिएको छ । ६ फिट उचाइबाट बारम्बार खसाल्दा समेत यो फोन खराब हुँदैन । यो फोनलाई तपाईंले साबुन र डिसइन्फेक्सनबाट धुन र पखाल्न सक्नुहुन्छ ।
मोटोरोला डेफेको मूल्य ३२९ युरो रहेको छ । ४ जीबी र्याम तथा ६४ जीबी स्टोरेज भेरियन्टमा मात्र आउने यो फोन ब्ल्याक र फोर्ज्ड ग्रिन कलर अप्सनमा खरिद गर्न सकिनेछ ।
यो फोनमा दुई वर्षको वारेन्टीसँगै सेक्युरिटी अपडेट प्राप्त हुनेछ । मोटोरोला डेफेमा एन्ड्रोइड १० अपरेटिङ सिस्टम रहेको छ । यसबाहेक एन्ड्रोइड ११ को अपडेट समेत यो फोनमा चाँडै प्राप्त हुने बताइएको छ । फोनमा डुअल सिम सपोर्ट रहेको छ ।
यसमा ६.५ इन्चको एचडी प्लस डिस्प्ले दिइएको छ । जसको माथि कर्निङ गोरिल्ला ग्लास भिक्टस प्रोटेक्सन राखिएको छ । फोनमा स्नापड्रागन ६६२ प्रोसेसर दिइएको छ भने यसको स्टोरेज मेमोरीकार्डमार्फत बढाउन सकिन्छ ।
मोटोरोलाको यो फोनमा पछाडि भागमा ३ वटा क्यामेरा राखिएका छन् । जसमा प्राइमरी लेन्स ४८ मेगापिक्सेलको छ । जसको अपार्चर १/१.८ रहेको छ । सँगै दुई मेगापिक्सेलको डेप्थ सेन्सर र दुई मेगापिक्सेलकै म्याक्रो सेन्सर रहेको छ ।
साथै सेल्फीका लागि यो फोनमा ८ मेगापिक्सेलको क्यामेरा दिइएको छ । ५००० एमएएच क्षमताको ब्याट्री राखिएको यो फोनमा २० वाटको टर्बोपावर चार्जिङ सपोर्ट समेत रहेको छ । यसको ब्याट्री लगातार दुईदिनसम्म टिक्न सक्ने दाबी गरिएको छ ।
कनेक्टिभिटीका लागि यसमा यूएसबी टाइप सी, ब्लुटुथ भी ५, एनएफसी, भीओएलटीई र ३.५ एमएम अडियो ज्याक राखिएको छ ।