
पाल्पा,सुनिल कार्की
लगातारको वर्षाले प्रेमको प्रतिक रानिमहल डुबानमा परेको छ । बराङ्गदी र कालीगण्डकी नदीमा आएको बाढीले रानीमहल जोखिममा समेत परेको छ ।
कालीगण्डकीको तटमा रहेको रानीमहललाई तिन तिरबाट पानिको बहावले घेरेको छ भने माथिबाट पहिरोको जोखिममा समेत परेको छ । एक तर्फ कालीगण्डकी र अर्को तर्फ बराङ्दी खोला उर्लिंदा पर्यटकीय स्थल रानीमहल त्यस आसपासमा आधा दर्जन होटल र रिसोर्ट डुबेका छन ।
यस्तै डिभिजन वन कार्यालय पाल्पाले निर्माण गरेको इको पार्क पुर्ण रुपमा डुबानमा परेको छ । लगातार दुई वर्ष देखि लाखौं रकम खर्च गरेर बनाएको पार्कको तल्लो गराको दुबो,रुख विरुवा र संरचनालाई क्षति पु्याएको डिभिजन वन कार्यालय पाल्पाका प्रमुख मोहन पौडेलले जानकारी दिनुभयो ।
इको पार्कमा रहेका दुई वटा गरा माध्ये माथिल्लो अहिले सम्म सुरक्षित रहेको तर तल्लो गराको गेट लगायतको संरचना डुबानमा परेको प्रमुख पौडेलले बताउनुभयो ।
पार्क निर्माणमा सुरुको वर्ष २० लाख र चालु आर्थिक वर्षमा १५ लाख बराबरको काम भएको थियो ।
जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रवक्ता रामेश्वर त्वातीले रानी महललाई तीनतिरबाट पानीले घेरेको जानकारी दिनुभयो । रानीमहल जाने बाटो पनि ठाउँठाउँमा पहिरो झर्दा सम्पर्क विच्छेद भएको छ । अहिले रानिमहलमा पानीको सतह बढ्दो छ ।