
२० बैशाख २०७८
कोरोना भाइरसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ ।
विभिन्न जिल्लाका गरि पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
बाँकेका अस्पतालमा भर्ना भएका थप पाँच कोरोना सङ्क्रमितको गए राति मृत्यु भएको छ ।
नेपालगञ्जस्थित भेरी अस्पतालमा तीन र शिक्षण अस्पताल कोहलपुरमा दुई गरी पाँच जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।
उनका अनुसार भेरी अस्पताल नेपालगञ्जमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–३ निवासी ५१ वर्षीय पुरुषको आज बिहान ३ः३० बजे, नेपालगञ्ज–१ निवासी ६६ वर्षीय पुरुषको ४ः०० बजे र बढैयाताल गाउँपालिका–८ बर्दिया निवासी ४७ वर्षीय पुरुषको आज बिहान ६ः३० बजे मृत्यु भएको हो ।
यसैगरी शिक्षण अस्पताल कोहलपुरमा नेपालगञ्ज–५ निवासी ४८ वर्षीय पुरुषको गए राति ९ः३० र बैजनाथ गाउँपालिका–८ निवासी ६० वर्षीया महिलाको आज बिहान १ः२० बजे मृत्यु भएको थियो ।
त्यस्तै, कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप चार कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
कोरोनाका कारण मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका –१ का ३८ वर्षीय पुरुष र लम्किचुहा –१० की ३५ वर्षीया महिला छन् ।
ती पुरुषको आज बिहान साढे १ बजे र महिलाको बिहान साढे ४ बजेको समयमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।
धनगढी उपमहानगरपालिका –२ का ४३ वर्षीय सङ्क्रमित पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा अज बिहान ५ बजेका समयमा मृत्यु भएको जोशीले जानकारी दिए।
सेतीमै उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका– ७ का ६२ वर्षीय पुरुषको पनि मृत्यु भएको बताइएको छ ।
त्यसैगरि, मकवानपुरमा थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
गए राति हेटौँडा अस्पतालमा एक सङ्क्रमितको मृत्यु भएको अस्पतालको कोभिड वार्डले जानकारी दिएको छ ।
अस्पतालको कोभिड–१९ उपचारकक्षको भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा हेटौँडा–१ का ५५ वर्षीय पुरुषको राति साढे ९ बजे मृत्यु भएको हेटौँडा अस्पतालमा प्रमुख डा प्रवीन श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार मृतक पुरुषलाई हिजो मात्रै कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
यसैगरि, कोरोना सङ्क्रमणपछि होमआइसोलेसनमा बस्दै आएकी सिन्धुलीकी एक वृद्धाको मृत्यु भएको छ ।
सिन्धुली अस्पतालका अध्यक्ष प्रह्लाद पोख्रेलले तीनपाटन गाउँपालिका–२ की ८० वर्षीया महिलाको कोरोना सङ्क्रमणका कारण आइतबार बिहान मृत्यु भएको जानकारी दिए ।