
९ बैशाख २०७८, बिहिवार
विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले बाँझोपनको उपचार र कृत्रिम गर्भाधान सेवा सुरु गरेको छ । निःसन्तान दम्पतीलाई उपचार गरी सन्तान हुने बनाउन र कृत्रिम गर्भाधान गरी बच्चा जन्माउन आइभीएफ सेन्टर सञ्चालन गरिएको हो ।
नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माकी आमा होमादेवी न्यौपानेले रिवन काटेर आइभीएफ सेन्टरको उद्घाटन गरिन् । कार्यक्रममा नोबेल अस्पतालका प्रवन्ध निर्देशक इन्दिरा शर्माले सन्तान नजन्मिएर समस्या ब्यहोरिरहेका दम्पतीहरुलाई लक्षित गरेर आइभीएफ सेन्टर सञ्चालन गरिएको भन्दै सन्तान नहुँदा निराश भइरहेका दम्पतीहरूमा अब सन्तानको खुशी ल्याउँने काम गर्ने धारणा राखिन् ।
सो अवसरमा आइभीएफ सेन्टरका प्रमुख एवं बरिष्ठ स्त्रीरोग विशेषज्ञ डा.शान्ति सुवेदीले अब निःसन्तान दम्पतीले उपचारका लागि टाढा धाउनुपर्ने बाध्यता अन्त्य भएको भन्दै नोबेलले निःसन्तान सम्बन्धि सबै किसिमको उपचार गर्ने बताइन् ।
नोबेलले ३ करोड ९५ लाखको लागतमा आइभीएफ सेन्टर सञ्चालन गरेको हो । निःसन्तान दम्पतीका लागि जुनसुकै मुलुकमा हुँने जस्तोसुकै उपचार पनि अब नोबेलमा हुने बताइएको छ । ।