
३१ चैत्र २०७७
दोलखाको बिगु गाउँपालिका–४, सिँगटीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
सिन्धुपाल्चोकको तातोपानीबाट दोलखाको गौरीशंकर गाउँपालिका जाँदै गरेको बोलेरो जिप विगु गाउँपालिकाको लादुकमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको दोलखाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिए ।
१७ जना घाइते भएका छन् । वाग्मती प्रदेश ०१०२३ च७५८० नम्बरको जिप सोमबार राति दुर्घटना भएको हो ।
मृत्यु हुनेमा बिगु–३ का ३५ वर्षीय विनोद केसी, ४५ वर्षीय अजिता खत्री, ५२ वर्षीय राधा खत्री र २४ वर्षीय चन्दिका खड्का छन् ।
उनीहरू सबै एकै गाउँका रहेको दोलखाका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए ।
घाइते हुनेमा बिगु गाउँपालिकाकी २७ वर्षीया सविना श्रेष्ठ, तीर्थकुमारी खड्का, कान्छीमाया श्रेष्ठ, तुलाकुमारी श्रेष्ठ, शेरबहादुर श्रेष्ठ, चेतविक्रम खड्का, चन्द्रकुमारी खड्का, श्रीराम खड्का, कविता खड्का छन् ।
यस्तै सुस्मिता श्रेष्ठ, तुलकुमारी श्रेष्ठ, कीर्तनदेवी कार्की, लक्ष्मी बुढाथोकी, उर्मिला खड्का, सलोम खड्का र चालक किशोर खड्का पनि घाइते भएको प्रहरीले जनाएको छ ।
उनीहरूको चरिकोट र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । केही गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको प्रहरीले जनाएको छ ।
उनीहरू सबै तातोपानी कुण्डमा नुहाएर घर फर्कंदै गर्दा दुर्घटनामा परेका हुन् ।