२५ फागुन २०७७
राष्ट्रिय सभा सांसद कोमल वलीले नेकपा एमालेका नेता रघुजी पन्तविरूद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा हालेकी छन्।
गायीकासमेत रहेकी वलीले पन्तविरूद्ध विद्युतीय तथा अन्य आमसञ्चार माध्यमबाट गाली बेइज्जती गरेको भन्दै क्षतिपूर्ति तथा मुद्दामा लागेको खर्च दिलाइ पाऊँ भन्दै मुद्दा हालेको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी नरेन्द्रकुमार शर्माले जानकारी दिए।
शर्माका अनुसार उनको उजुरीमा मुलुकी अपराध संहिता २०७४ को दफा ३०५ को उपदफा १ र २, ३०६ को उपदफा १ र २ अनुसार कसुर गरेको भन्दै हदैसम्मको कारबाही माग गरिएको छ।
३०५ मा गाली गर्न नहुने भनिएको छ। यसको उपदफा १ र २ अनुसार कसुर गरेमा उपदफा ३ बमोजिम १ वर्षसम्म कैद र १० हजारसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ।
त्यस्तै दफा ३०६ मा बेइज्जती गर्न नहुने भनिएको छ। यसको को १ र २ अनुसार कसुर गरेमा दफा ३०७ बमोजिम २ वर्षसम्म कैद र २० हजारसम्म जरिवाना हुने व्यवस्था छ।
यस्तो बेइज्जती आमसञ्चार माध्यमबाट गरेमा थप १ वर्षसम्म कैद र १० हजार रूपैयाँसम्म जरिवाना हुने छ।
राजधानीमा गत शनिबार आयोजित कार्यकर्ता भेलामा पन्तले ‘कोमल वलीले सारी सर्काएर गोरा पिँडुला देखाएर पोइला जान पाम् भनेपछि सांसद भएको’ टिप्पणी गरेका थिए।
पन्तले आफ्नो भनाइले कोमल वलीलाई चोट पुगेकोमा माफी मागिसकेका छन्।
‘मेरा शब्दले उहाँलाई चोट पुर्याएको छ भने म साँच्चै दु:खी छु। यो मेरो मनैदेखिको दु:ख व्यक्त गराई हो। सरी, मेरो आशय त्यस्तो थिएन,’ पन्तले भने, ‘मैले सन्दर्भवश उहाँको गीतलाई जोड्न खोजेको थिएँ। शब्दहरू यताउता पर्दा मेरो अभिव्यक्तिले उहाँप्रति चोट पुग्न गएको छ भने त्यसप्रति म ज्यादै दुखित छु।’









