२४ फागुन २०७७
उपप्रधानमन्त्री एंव रक्षामन्त्री ईश्वर पोख्रेलले विचार, संगठन र नेतृत्वको ख्याल नगरि पार्टी एकता गरिएकाले समस्या भएको बताएका छन् ।
१ सय ११ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सोमबार काठमाण्डौमा आयोजित कार्यक्रममा उनले पार्टीएकता गर्दाको समयमा ढंग नपुगेका कारण समस्या भएको बताएका हुन् ।
विचार, संगठन र नेतृत्व भन्दा पनि चुनावमा बहुमत ल्याउने विषयलाई मात्रै प्राथमिकतामा राखेकाले अहिले समस्या भएको उनको भनाई थियो ।
आईतबारको सर्वोच्च अदालतको फैसला पछि एकिकृत पार्टीहरुको अवस्था २०७५ साल जेठ ३ गते आगाडिको अवस्थामा पुगेको उल्लेख गर्दे उनले अब नेकपा एमालेले विचार, संगठन अनि योग्य नेतृत्व राखेर नयाँ ढंगले पार्टी एकतालाई अघि बढाउने बताए।
केही समय अगाडि नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रधानमन्त्री ओली समुहका तर्फबाट थप गरिएका केन्द्रीय सदस्यहरु पनि नेकपा एमालेकै केन्द्रीय सदस्य हुने भन्दै सबैलाई विश्वस्त हुन आग्रह गरे।
उनले भने “नेकपा एमालेको ९ औ महाधिवेशनले चुनेको केन्द्रीय कमिटीको बैठक हुन्छ । त्यो बैठकले अस्ति थपिनुभएका साथीहरुलाई नै फेरि थपेर विस्तारित कमिटी बनाउँछ । अब केही हुदैन । तर लय र स्टेप मिलाउनका लागि नेकपा एमालेको पहिले केन्द्रीय कमिटीको बैठक हुन्छ ।
केन्द्रीय नेताहरुलाई बैठकमा बोलाईन्छ । नआउने अब अन्तैतिर जान्छु भन्ने पनि निस्केलान् निस्के भने पनि कोहीवात छैन जानुहुन्छ ।”
उनले नेकपा एमाले सुर्य चिन्ह सहित सबैलाई समेटर अघि बढ्ने बताए । छिनछिनमा सरकार बदलिने, हेरफेर भईरहने कुरा भयो भने मुलुकमा अस्थिरता पैदा हुने र त्यसले समग्र आर्थिक र विकासको गतिलाई प्रभाव पार्ने भएकाले आफुहरुले त्यसो गर्न हुदैन भन्ने अडान राख्दा पार्टी भित्रैबाट अहसहयोग भएको दाबी उनले गरे।
प्रधानमन्त्री केपी ओलीको नाममा भोट मागिएको र ओलीलाई नै जनताले विश्वास गरेकाले उनको विकल्प खोज्ने विषय अस्वभाविक भएको तर्क उनले गरे । उनले प्रतिनिधिसभा पुर्नस्थापना संगै मुलुकमा अस्वभाविक क्रियाकलाप हुन थालेको र त्यस्ता घिनलाग्दा काम नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्रैका नेताहरुबाट भईरहेको दाबी गरे ।
उनले महिला अधिकारको विषयमा संसदमा पहिलो अगुवाई गरेर राज्यका अंगहरुमा ३३ प्रतिशत प्रतिनिधित्व हुनुपर्छ भनेर प्रस्ताव लैजाने र सफल बनाउने नेतृ वर्तमान राष्ट्रपतिलाई अपमान गर्ने काम हुनु दुखद भएको बताए।
महिला अधिकार कसैले दिएर दिईने विषय नभएको उल्लेख गर्दे उनले श्रम, उत्पादन तथा सम्पत्तिमाथिको अधिकारसंग महिला अधिकारलाई हेर्नुपर्ने तर्क गरे।
आफुलाई ठुला घरानिया भन्नेहरुले श्रीमतीको नाममा लालपुर्जा बनाएर सम्पत्ति माथिको अधिकार छ भनेर देखाउने गरेको भन्दै त्यसलाई समानता र अधिकारको कडी मान्न नसकिने तर्क उनले गरे।









